देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड


भदौ १६, २०८१, आइतबार | दिउँसो ०२:४१ बजे | 75


देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड

केके मानन्धर
नागरिक अगुवा डा. महेश मान श्रेष्ठले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी लगायतको दलले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्ने सुझाउनु भएको हो । नेवाः ग्वहालि पुचः टोखाले गरेको कार्यक्रममा नेपाललाई भ्रष्टाचारी, राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका जनताले बिगारेको श्रेष्ठले आरोप लगाउनु भएको छ । ‘बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भएका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।’ डा. श्रेष्ठको भनाइ छ । उहाँले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा माया गर्ने नेताहरुको आवश्यकता रहेको बताउनुभएको छ । नागरिक अगुवा श्रेष्ठले पछिल्लो समय नयाँ पुस्ताको मातृभाषाप्रतिको विकर्षणप्रति चिन्ता व्यक्त गर्दै नेपालभाषा क्लब, आदिवासी नेवाः राजनीतिक अभियान तथा नेवाः ग्वहालि पुचःले भाषा संरक्षणमा दिंदै आएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले टोखा नगरपालिका वडा नं. २ र ३ मा स्थानिय पाठ्यक्रम बनाएर नेपालभाषाको अध्यापन सुरु गराएको जानकारी दिनुभयो । स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी मातृभाषा अध्यापन गराउन पाएकोमा खुसी व्यक्त गर्दै समन्वय गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
टोखाको मूध्वाखास्थित वडा कार्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा उद्घोषण, औपचारिक कार्यक्रममा सिलसिला मिलाएर बोल्ने शैली, प्रचलित नेपाल लिपि प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । ग्वहालि पुचःले यसअघि कीर्तिपुर, तारकेश्वर नगरपालिकाको मनमैजु, फुटुङ, धर्मस्थली, भक्तपुरको थिमि, काठमाडौंका विभिन्न टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणी लगायत सहभागी थिए ।

फाेटाेमा हेर्नुहाेस्...

देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड

Comments