किन खोल्न थालियो पसलहरु ?


जेठ २४, २०७७, शनिबार | विहान ०६:०८ बजे | 30


किन खोल्न थालियो पसलहरु ?
भक्तपुर । क्रमशः लम्विम्दो बन्दावन्दीको विरोधस्वरुप औपचारिक रुपमै पसल खोल्ने निर्णयसँंगै भक्तपुरमा पसलहरु खुल्न थालेका छन् । सरकारले बन्दावन्दीको बिकल्प नखोजी क्रमशः बन्दावन्दी लम्वाउँंदै गरेको भन्दै विरोधस्वरुप उनीहरुले पसल खोलेका हुन् ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँंग औपचारिक छलफलमा पसल खोल्ने निर्णय गरी पसल खोलिएको श्रोतका दावी छ । विहान १० बजेसम्म पसल खोल्छौ प्रहरी प्रशाशनले कारबाही गर्नु पाउँंदैन भनेपछि प्रमुख जिल्ला अधिकारीज्यूले नै हुन्छ, तर हामी औपचारिक रुपमा पसल खोल्न दिन पत्र लेख्न सक्दैनौं भनेको बैठकमा सहभागी एक व्यापारीले नागरिकलाई भने । उनका अनुसार पसल खोलेबापत प्रहरी प्रशाशनले हस्तक्षेप नगर्ने मौखिक सहमतिसमेत भएको छ । त्यसकारण औपचारिक रुपमै तत्काललाई जेठ २३ गतेसम्म पसल, शोरुम, उद्योग व्यवसाय सञ्चालन गर्नहुन औपचारिक रुपमै सर्कुलर गरिएको श्रोतको दावी छ । बरु आआफनो सुरक्षाका लागि पाँंच वटा उपायहरु पनि अपनाउन त्यो सर्कुलरमा उल्लेख गरिएको छ । सर्कुलरमा पसलमा बस्दा माक्स लगाउन, पञ्जा लगाउन, टोपी लगाउन, सेनिटाइजर अथवा सावुन पानीले हात धुन र सामाजिक दुरी कायम गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरिएको छ ।
यसअघि भक्तपुर उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति निकाली लकडाउनको बिकल्प नखोजी क्रमशः लकडाउन बढाउँंदै लगेको भन्दै विरोध जनाएको थियो । संघका अध्यक्ष प्रदीप श्रेष्ठद्धारा जारी विज्ञप्तिमा लकडाउनकैबीच सामाजिक दूरी कायम गरी सम्पूर्ण उद्योग व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तयार पार्न पनि जोड्दार माग गरेको उल्लेख थियो । ‘सरकारले कोरोना रोकथामका लागि भन्दै खाली लकडाउनको समय थप्ने बाहेक अर्काे विकल्प देखेको पाइएन । यस्तो परिस्थितिमा हालकै शैलिमा लकडाउन पालना गर्ने धैर्य र संयमता हामी निजीक्षेत्रमा अब नरहेको प्रष्ट पार्न चाहन्छौं’ भनिएको छ ।

Comments