चाहेर पनि विर्सन नसकिने त्यो भदौ ९


भदौ ९, २०८१, आइतबार | साँझ ०४:११ बजे | 85


चाहेर पनि विर्सन नसकिने त्यो भदौ ९

भक्तपुर । घटना घटेको ३६ वर्ष पूरा गरी ३७ वर्ष लागेको छ आइतबारदेखि २०४५ साल भदौ ९ को त्यो घटना । तर अहिलेसम्म पनि भक्तपुरबासीले विर्सन सकेका छैनन् त्यो घटना । 
त्यो बेला देशमा कति पञ्च र कति बहुदलवादी छन् भन्ने अनुमानलाई जनमतसङ्ग्रहले क्रमशः ५५ प्रतिशत र ४५ प्रतिशत भएको पुष्टि सरकारी पक्षले नै गरिसकेको थियो । ४५ प्रतिशतका बहुदलवादीहरू विभिन्न समूहमा विभाजित थिए । ती समूहमध्ये तत्कालिन नेपाल मजदुर किसान संगठन हालको नेपाल मजदुर किसान पार्टीको ‘रोहित’ समूह एउटा थियो । त्यही रोहित समूहलाई समुल नष्ट गर्ने उद्देश्यले पञ्चायती शाशकले षडयन्त्र गरेको पार्टीको धारणा छ । भक्तपुर काण्ड सरकारी षड्यन्त्र भएको पार्टीको धारणा हो । 
घटना विवरण अनुसार तत्कालिन राष्टिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योजु ‘रोहित’ समूहबाट निकालिएका थिए । यही क्रममा २०४५ साल भदौ ५ गते काठमाडौंमा महाभूकम्प गयो । त्यसपछि पञ्चायती सरकारले भूतपूर्व भइसकेको ह्योजूलाई पीडितलाई राहत वितरण गर्न भक्तपुरमा जिम्मेबारी दिइयो । जवकि भक्तपुरबाट राष्टिय पञ्चायत सदस्य तथा भक्तपुर नगरपञ्चायतमा निर्वाचित प्रधानपञ्च थिए । ह्योजूको नेतृत्वमा भएको भूकम्पपीडितलाई राहत वितरणमा धाँंधली भएको आरोप आयो । पीडितलाई राहत नदिई श्री ५ को सरकारले इतर समूहलाई उद्धार र राहत सामग्री वितरण गरेको आरोप लाग्यो । धाँंधलीपूर्ण राहत वितरण गरेको भन्दै भदौ ९ गते ह्योजूको विरोधमा विरोध भयो । हजारौको सहभागितामा ह्योजूमाथि कुटपिट भयो । त्यसपछि प्रहरीले उद्धार गरी ह्योजूलाई उपचारका लागि बीर अस्पताल पुरयाइयो । अस्पताल पुरयाएको राति नै ह्योजूको मृत्यु भएको घटना सार्वजनिक भयो । त्यसपश्चात हत्या आरोपमा राति नै संगठनका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) सहित तत्कालिन भक्तपुरबाट निर्वाचित राष्टिय पञ्चायत सदस्य गोविन्द दुवाल, भक्तपुर नगर पञ्चायतका प्रधानपञ्च ज्ञानबहादुर न्याईच्वाई (हाल स्वर्गीय) ६७ जना पार्टीका कार्यकर्ताहरुलाई ज्यान मुद्धा लगाई फासीको मागसहित पक्राउ गरियो । 
घटना घटेकै राति भक्तपुरका घरघरमा पुगेर प्रहरीले आतंक मच्चायो, पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघले आइतबार आयोजना गरेको भत्सर्ना कार्यक्रममा बक्ताहरुले भने । घर–तलासी, तिनीहरूमा आश्रित हजारौँ बुढाबुढी, आइमाई, केटाकेटीको त्रस्त जनजीवन प्रहरी आतङ्कबाट सृजना भएपछि सिंगो भक्तपुर आतंकित भएको कार्यक्रमका वक्ताहरुले सम्झे । 
त्यसपछि झण्डै २० महिना भक्तपुरबासीले राज्य आतंक व्यहोर्नुपरयो । रोहितसँंग विमत राख्ने परिवारका युवाहरूसमेतको जनजीवन अस्तव्यस्त बनाइएको थियो; खुला हिँड्न डराएका थिए, कार्यक्रममा वक्ताहरुले भने, वर्षात्को मौसम भए पनि घरमा सुत्न डराएर पाटी र बाटोमा सुत्न बाध्य बनाइयो । भदौ महिनामा पनि भक्तपुरमा शिवरात्रि पर्व परेकोझैँ प्रत्येक टोलमा धुनी बलेको थियो ।
पुरुषविहीन भक्तपुरमा त्यसपछि महिलाहरूको आयोजनामा २०४५ असोज १ गते पहिलोपटक जुलुश भयो । त्यससँंगै नेपालमा जनआन्दोलनको थालनी भयो । २०४६ साल चैत २७ गते जनआन्दोलन सफल भयो । त्यसपछि नेपालमा ३० वर्षीय पञ्चायत शाशणको अन्त भई २०४६ चैत २६ गते बहुदलीय प्रजातन्त्र पुनस्थापना भयो । त्यससँंगै जेल परेका पार्टी अध्यक्ष रोहितसहित सवै ६७ जना नै कार्यकर्ताहरु जेलमुक्त भए । 

Comments