यसरी नाचे ससाना नानीहरुले घिन्तान्गिसी नाच
भदौ ७, २०८१, शुक्रबार | विहान ०८:०८ बजे | 55
भक्तपुर । भक्तपुरको एभरेस्ट स्कुलका विद्यार्थीले शुक्रबार स्कुलमा गाईजात्रा पर्व मनाएका छन् । गाईजात्राको क्रममा नाचिने घिन्तान्गिसी ( लठी जुधाएर नाचिने नाच) नाच प्रदर्शन गरेका हुन् । स्कुलमा कक्षा ८ मा पढ्ने विद्यार्थीले नाच प्रदर्शन गरेका हुन् ।
वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्वबारे जानकारी दिने उद्देश्यले विद्यार्थीलाई जात्रा गर्न लगाइएको स्कुलले जनाएको छ । निन्तान्त नेवार समुदायको जात्रा रहे पनि विद्यार्थीलाई विभिन्न भाषाभाषीका पोशाक लगाएर विद्यार्थीले नाच प्रदर्शन गरेका थिए । नेवार जातिको जात्रा भए पनि यो जात्राप्रति सवैको सदभाव छ भन्ने देखाउन सवै भाषाभाषिका पोशाक लगाउन लगाएको स्कुलले जनाएको छ ।
जात्रामा विशेष गरेर कक्षा ८ का सम्पूर्ण छात्रछात्रा सहभागी रहेका थिए । उनीहरुलाई स्कुलका ६ र ७ का केही विद्यार्थीहरुले सहभागिता जनाई सहयोग गरेका थिए ।
विद्यार्थीले गाईजात्रा स्कुलको खुल्ला ठाउँमा प्रदर्शन गरेका थिए । जात्राको स्कुलमा प्ले ग्रुपदेखि १० कक्षासम्म अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थी, शिक्षकशिक्षिका, कर्मचारीले अवलोकन गरेका थिए । खुल्ला मैदानको चारैतिर बसेर अन्य विद्यार्थीलाई नाचको अवलोकन गराउन लगाइएको थियो । प्रदर्शन झण्डै एक घण्टा चलेको थियो ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्थानीय पाठ्यक्रम (ख्वपको पहिचान) को व्यावहारिक ज्ञान दिनका लागि जात्रा मनाइएको बताए । साथै उनले विभिन्न चाडपर्व जस्तै गाईजात्रा, कृष्ण जन्माष्टमी, बुवाको मुख हेर्ने, म्हः पूजा, तिहार, माघी चाडपर्वहरु विद्यालय तहदेखि सामूहिक रुपमा मनाउने परम्परा अनुसार जात्रा गरिएको बताए । जात्राहरुको सम्मान गर्न सिकाए मात्र धार्मिक तथा समुदाय सहिष्णु असल नागरिक बन्ने र त्यसले राष्ट्रिय एकतामा बल पु¥याउने विश्वास समेत उनले व्यक्त गरे।
जात्राको लागि ताहामचा (मृत व्यक्तिको प्रतीकस्वरुप बनाइने गाई) बनाइएको थियो । त्यही गाईको प्रतिक ताहामचाका साथै स्कुलकै विद्यार्थीले बाजागाजा बजाएका थिए ।
स्कुलले २०६९ सालदेखि अनवरत रुपमा गाईजात्रा मनाउँदै आइरहेको जनाएको छ । विद्यालयले विभिन्न धर्म, समुदायमा रहेका असल संस्कारलाई सधैँ सम्मान र अनुसरण गर्ने गरेकोले विभिन्न, जातजाति समुदायका, धर्म संस्कृति, रीतिरिवाजलाई सम्मान गर्ने सहिष्णु नागरिक तयार पार्ने र त्यसले राष्ट्रिय एकतामा बल पु¥याउने विश्वास व्यक्त गरियो ।
आफ्नी रानीलाई पुत्र शोकबाट मुक्त गराई खुसी बनाउन तत्कालीन काठमाडौंका राजा प्रताप मल्लले गाईजात्रा पर्व सुरु गरेको इतिहास छ । जन्मपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एक अनिवार्य प्रक्रियाको रुपमा अघि बढ्नका लागि मृतकको शोक सन्तप्त परिवारजनलाई महसुस गराउने विश्वास गाईजात्राको छ । आठ रात नौ दिन चल्ने भक्तपुरको गाईजात्रा निरन्तर चलिरहेको छ । भक्तपुरको गाईजात्रा भदौ ३ गते सोमबारदेखि सुरु भएको थियो ।