आज भक्तपुरका भ्यागुतालाई भोज
भदौ ३, २०८१, सोमबार | विहान ०२:२९ बजे | 35
भक्तपुर– सबैका हातमा किस्ती । तिनमा ठूल्ठूला पात । पातमाथि सजाइएका छन्, थरीथरी परिकार । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी छुटाइएको छैन । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका छन् । छेवैमा धुवाइरहेको धूपले सुगन्ध फैलाइरहेछ ।
जनैपूर्णिमाका अवसरमा सोमबार सबेरैदेखि मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने यिनै सामग्री बोकेर आफ्ना खेततिर लाग्दैछन् । अनि, आलीमा टुक्रुक्क बसेर ’पाहुना’ डाक्न थाल्दैछन् ।
आजका पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् र होइनन् पनि । यो सत्कार थियो, भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो दिए । सांकेतिक रूपमा सिन्दूर पहि¥याइदिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइदिए । किसानले आलीमै बसेर भोज खाए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरूको भाग त्यहीँ छाडिदिए ।
प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास गर्छन् । र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउँछन् । यही परम्परा धान्न भक्तपुरे किसान परिवारका कम्तीमा एक सदस्य किस्ती बोकेर खेततिर लागे । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो । कोही साइकलमा त कोही मोटरसाइकलमा हुइँकिइरहेका थिए, कोही भने पैदलै ।
प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ’ब्यां चा जानका वानेगू’ भन्छन् । नेपालभाषामा ’ब्यां’ को अर्थ भ्यागुतो र ’जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
सकृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन् । बालीनाली संरक्षण गरिदिएको कदरसहित वर्षमा एकपटक भ्यागुतालाई सम्झने परम्परा अहिले पनि जस्ताको त्यस्तै रहेको ठान्छन् उनी । ’भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गरिरहेको हुन्छ,’ उनले भने, ’भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने कीटाणु खाइदिन्छ ।’