कारुनिक भावनाको चित्रण


साउन २५, २०८१, शुक्रबार | विहान ०६:३८ बजे | 55


कारुनिक भावनाको चित्रण

प्रताप राना मगर 
प्रस्थान विन्दू
मानव देह (हाम्रो जिन्दगानी) कर्कलाको पानी झैं नश्वर छ । सबैले यो देहलाई एकदिन त्याग्नुपर्छ नासवान् भएकोले नै नश्वर भनियो । तर जीवनमा पवित्र अर्थात् असल कार्य गरियो भने त्यसको आत्मा परमधाममा गई इश्वरमा एकाकार हुन्छ, इश्वरै बस्न पुग्दछ । मृत्यु वास्तवमा दुखदायी हुन्छ, कारुनिक हुन्छ । आफन्त परिवारजन, इष्टमित्र सबैलाई पीडाबोध हुन्छ । यस्तै पीडाको पुञ्ज – सावित्री स्मृति पुष्प एक लिखित पुस्तक हो ।
विश्व शान्ति केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. इन्दुल केसी(झा) ज्यूका अर्धाङ्गिणी सावित्री केसी हुनुहुन्छ । वि.सं. २०८० साल असोज २१ गते सावित्रीजीले यो संसारीक मोहजालबाट आफूलाई मुक्त गरी परलोकगमन गर्नुभयो । 
पुस्तक
पुस्तक एक लिखित दस्तावेज हो । लेखकहरुले विभिन्न विषय र विधाहरुमा पुस्तक लेखेका हुन्छन् । त्यो पुस्तकलाई सम्पादकले सम्पादन गर्छन्, प्रकाशकले प्रकाशन गरी पाठकहरुकोमाझ पु¥याइएका हुन्छन् । यस्तै प्रकारले डा. इन्दुल केसीको जीवनमा परेको ठूलो बज्रपातलाई सहेर आफ्नी अर्धाङ्गिणी सावित्रीप्रति अघात स्नेह, असीम श्रद्धासुमन अर्पित गर्दै भावपूर्ण श्रद्धाञ्जलिहरुको संगालो शोक स्मृति पुस्तकलाई आफैले सम्पादन गर्नुभयो । यसलाई शब्दयात्रा बनेपा, काभ्रेबाट प्रकाशित गरेको हो ।
यस पुस्तकमा स्व.सावित्रीको जीवनी, वंशावली तालिका, उहाँले गर्नुभएका विभिन्न योगदान, अरुले गरेका समवेदनाका सन्देशहरु, आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिन उपस्थित हुनुभएका सयौंजना महानुभावहरुको नामावली यसमा उल्लेख गरिएका छन् । यसरी नै काठमाडौं, कोटेश्वर महादेवस्थानमा रहेको क्रियापुत्री भवनमा पुगेर श्रद्धाञ्जलिका समवेदनाका लिखित पत्रहरु प्रदान गर्न आउनुहुने विभिन्न संघ संस्था, व्यक्तिहरुको नामावलीसमेत यस पुस्तकमा समावेश गरिएका छन् ।
उल्लेखित दुवै स्थानहरुमा हाम्रा संस्थाका समूह उपस्थित रहेकोले त्यहाँको परिदृश्यहरु हामीलाई अझैं झझल्को आइरहेको छ । उक्त पुस्तकमा सावित्रीजीलाई आजभन्दा २६ वर्ष पहिले काठमाडौंको वीर अस्पतालमा उपचार गर्दा विरामीलाई आवश्यक रगत खरिद गर्न इन्दुललाई परेको आर्थिक समस्याको बेला उहाँका मित्र श्री विदुर केसीजीले पैसा सापति दिनुभएको मर्मस्पर्शी घटना हामी सबै पाठकवर्गहरुलाई अमित छाप पर्नेछ भन्ने लागेको छ । 
भक्ति संगीत कार्यक्रम
मेरो मानसपटलमा त्यो कार्यक्रमको झझल्को आइरहेको छ । उक्त कार्यक्रम श्रीमती सावित्री केसीज्यूको निवास काठमाडौं कोटेश्वर तिनकुने सुविधानगरमा भएको थियो । त्यस कार्यक्रममा हाम्रा संगीत टोली – म स्वयम् तबलाबादिका, संगीतकार, गायिका सुश्री मञ्जु नकर्मी, डा. इन्दुल केसी हुनुहुन्थ्यो । यहाँ नकर्मीजीको प्रसंगमा उल्लेखनीय कुरा – उहाँ नेपालका पाँचौं वरियताक्रमकी तबलाबादक हुनुहुन्छ । त्यो बेला डा. इन्दुल केसीले हार्मोनियम बजाउनुभयो, नकर्मीजीले तबला बजाउनुभयो साथै मैले झ्याली बजाई भजन प्रस्तुत गरेका थियौं । गज्जबको आध्यात्मिक माहोल बनेको थियो । हामीले प्रस्तुत गरेको भजन सावित्रीजीले आनन्दमानी हँसिलो, चम्किलो आकृतिमा ध्यानपूर्वक प्रस्तुत भजनहरु श्रवण गर्नुभएको थियो ।
कहिलेकाही हामी मञ्जु नकर्मी र म, डा. इन्दुल केसीलाई भेट्न भक्तपुरको उहाँको निवासमा जाँदा श्रीमती सावित्रीजीको अथिति सत्कार, हँसिलो मुहार, प्रसन्न मुद्रामा रहनुभएको पाउँछौं । आफ्ना पति डा. इन्दुलजीलाई स्वतन्त्र विचरण गर्न ज्ञानको सागरमा मोती टिप्न सहयोगी हुन तत्पर रहेको पाउँथ्यौ । डा. इन्दुलजीले आफ्नो रथको दुई पाङ्ग्रामध्ये एक पाङ्ग्रा गुमाउनुभएको छ । उहाँ मुटुमाथि ढुङ्गा राखी हासिरहेको देखिन्थ्यो । उनले आफ्नो स्मृतिको सिंहासनमा सावित्रीलाई सजाउनु भएको छ । स्मृतिका पलपललाई कोषागारमा भण्डार गर्नुभएको छ । श्रद्धा र आस्थारुपि पूmलहरु अर्पण गर्दै बादशाह शाहजहाले जस्तै आफ्नै ताजमहल निर्माण गर्नुभएको भान हुन्छ । 
अन्तिम विन्दू
यस स्मृति पुस्तकमा सावित्री केसीको स्वर्गारोहण पश्चात् उहाँसँग सम्बन्धित प्रत्येक क्षणहरुलाई नमेटिने अक्षरमा अंकित गर्ने क्रममा विभिन्न घटनाहरु, विभिन्न लेखरचनाहरु, पत्रपत्रिकामा प्रकाशित समाचारहरु, शोक सन्देशहरु, चित्रहरुद्वारा सावित्रीजीको विविध विवरण यसमा समावेश भएको पाइयो । यो पुस्तक यस प्रकारको शोक पुस्तिका नमूनालायकको रुपमा तयार भएको पाएँ ।
८८८८

Comments