परिवर्तनशील आवाजको १७ औं वार्षिकोत्सव


साउन ९, २०८१, बुधबार | विहान ०५:१७ बजे | 65


परिवर्तनशील आवाजको १७ औं वार्षिकोत्सव

भक्तपुर । भक्तपुर जिल्लाबाट नियमितरूपमा हरेक बिहीबार प्रकाशित हुँदै आएको 'परिवर्ततशील आवाज' साप्ताहिकले आफ्‌नो १७ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा 'परिवर्तनशील आवाज' का प्रकाशक/सह-सम्पादक रामचन्द्र (आरसी) प्रजापतिले देश र जनतालाई सही सूचना प्रवाह गर्दै स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारिता गर्ने ध्येयका साथ १७ वर्षअगाडि प्रकाशन शुरु गरिएको 'परिवर्तनशील आवाज' आफ्‌नो ध्येयमा अडिग रहेको र रहिरहने प्रतिबद्धता जनाएका थिए । नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले साना र स्वरोजगारमूलक पत्रपत्रिकाको स्थायित्वका लागि अझै लामै लडाई लड्न बाँकी रहेको बताउँदै त्यसका लागि राज्यलाई सदैव घचघच्याउन र लडाईंको अग्रभागमा खट्न आफू तयार रहेको बताएका थिए । वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले साना लगानी र स्वरोजगारमूलक पत्रपत्रिकाको हकहित संरक्षण र उत्थानमा सरकारी निकाय उदाशीन देखिनु दुर्भाग्य भएको बताए । उनले नेपाल पत्रकार महासंघको नेतृत्वमा साना लगानी र स्वरोजगारमूलक पत्रपत्रिकाको पीडा बुझेकाहरू नपुग्दा सरोकारवालाहरूलाई घचघच्याउन असहज भएको आरोप लगाए। हुँदै गरेको नेपाल पत्रकार महासंघको निर्वाचनमा राजनीतिक पार्टीनिकट भ्रातृ संगठनका उम्मेदवारभन्दा पनि व्यवसायिक पत्रकारहरूलाई नेतृत्वमा पुऱ्याउन वरिष्ठ पत्रकार देवकोटाले सबैसँग आग्रह गरे। वरिष्ठ पत्रकार प्रविणराज जोशी र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इञ्चार्ज रमेश गिरीले पत्रकारिता समाजको ऐना भएकाले सत्य तथ्य समाचार प्रवाहमा 'परिवर्तनशील आवाज' लाई सफलताको शुभकामना दिएका थिए । 'परिवर्तनशील आवाज' साप्ताहिकका सम्पादक कृष्ण प्रजापतिले पत्रिका प्रकाशन शुभारम्भ गर्दाका क्षणदेखि लिएर सत्र वर्षका बीचमा आफूहरूले गरेको संघर्षका कथा सुनाउँदै भविष्यपर्यन्त परिवर्तनको आवाज बुलन्द गर्नका निम्ति आफूहरू उच्च हौसला र मनोबलका साथ क्रियाशील रहते बताएका थिए। १७ औं वार्षिकोत्सव कार्यक्रमका वक्ताहरूले खासगरी भक्तपुरको आवाजलाई बुलन्द पार्दै राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूलाई पनि समेट्न, स्वतन्त्र- निष्पक्ष र व्यवसायिक पत्रकारिताको पर्याय बन्न 'परिवर्तनशील आवाज' साप्ताहिकलाई शुभकामना दिएका थिए ।

Comments