देशकै पहिलो नमूना वडा बन्दै भक्तपुरको बालकोट
साउन ४, २०८१, शुक्रबार | दिउँसो १२:५० बजे | 155
भक्तपुर । देशैभरिका सडकहरु वर्षामा हिलाम्य र हिउँंदमा धुलो उडेर हैरानी हुने गरेको समस्यावीच भक्तपुरको एउटा वडा भने यसबाट मुक्त हुने क्रममा पुगेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोट वर्षामा हिलाम्य र हिउँंदमा धुलाम्ये हुने समस्याबाट मुक्ति पाउने वडाको रुपमा परिचय पाउँदै छ ।
सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोटका वडा अध्यक्ष दीपेन्द्र केसीले अर्काे वर्षदेखि वडालाई हिलो र धुलोमुक्त वडा घोषणाको तयारीमा रहेको जनाए । यसका लागि वडाका सवै सडकहरुलाई कालोपत्रे सकाउने योजना रहेको उनले सुनाए ।
‘यो वर्षभित्रै यो वडाका सडकमा माटे सडकहरु रहने छैनन्, बुधबार पत्रकारहरुसँंग वडामा भइरहेका विकास निर्माणहरुको प्रगतिहरुबारे जानकारी दिंदै उनले भने, सवै सडकलाई कालोपत्रे गरिसक्ने योजना छ । त्यसपछि वडालाई हिलो र धुलोमुक्त वडा घोषणा गर्नेछौ ।’ सवै सडक कालोपत्रे भइसकेपछि वडा वर्षामा हिलो र हिउँंदमा धुला मुक्त वडा हुने जानकारी उनले गराए ।
वडा कार्यालयले जनाए अनुसार वडाभित्र कुल दसदेखि १२ किलोमिटर
सडक रहेको अनुमान छ । तीमध्ये सवैभन्दा ठूलो फराकिलो सडक १० मिटर चौडाइको छ । तथापि वडामा ८ मिटर र ६ मिटर चौडाईका सडकहरु धेरै छन् । ती सडकहरु सवै कालोपत्रे भइसकेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं ३ का वडा सदस्य घनश्याम भटराईले वडालाई जिल्लाकै पहिलो सवै सडक कालोपत्रेयुक्त वडा बनाई धुलोहिलो मुक्त वडाको रुपमा विकास गर्ने योजनाका साथ अगाडि वढिरहेको जानकारी गराए । काठमाडौंसँंगै जोडिएको यो वडा विकासका दृष्टिले अगाडि रहेको भनाई उनले राखे ।
भक्तपुरको यो वडा काठमाडौंको कोटेश्वरसँंगै जोडिएको वडा हो । यो वडा कोटेश्वरको दक्षिण पूर्वी क्षेत्रमा पर्दछ । यो वडा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासको पनि वडा हो । यद्यपि पछिल्लो स्थानीय निकायको निर्वाचनमा यो वडामा नेपाली कांग्रेसका उम्मेदबार वडा अध्यक्षमा विजयी बनेका थिए ।
भक्तपुरमा चार वटा नगरपालिकाहरु छन् । भक्तपुुर र सूर्यविनायकमा दसदस तथा मध्यपुर थिमि र चाँंगुनारायण नगरपालिकाहरुमा नौनौ वटा गरी जिल्लामा कुल ३८ वटा वडाहरु छन् । यी वडाहरुमध्ये सूर्यविनायकका १० र चाँंगुनारायणका नौ वटा वडाहरु नयाँं वसोबासका वडाहरु हुन् । भक्तपुर र मध्यपुर थिमि पुरानो नगरपालिका भएकाले त्यहाँं पुराना वस्तीहरु छन् ।
पछिल्लो राष्टिय जनगणणा अनुसार यस वडामा १३ हजार दस जनाको जनसंख्या रहेको छ । राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिकाको सहकार्यमा जिल्लाका पत्रकारहरुलाई नगरपालिकाका वडावडाहरुमा भइरहेका विकास निर्माणबारे जानकारी गराउन एकदिने भ्रमण गराएको आयोजक राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरका सचिव हेमराज ढकाल सुमनले बताए ।