भक्तपुरको चितपोल ः सडक छ, सवारीसाधन छैन


साउन ४, २०८१, शुक्रबार | विहान ०४:१० बजे | 40


भक्तपुरको चितपोल ः सडक छ, सवारीसाधन छैन

भक्तपुर । भक्तपुरको चितपोलबासीहरुले भाडाको सवारीसाधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन् । वडामा कालोपत्रेसहितको सडक विसतार भएपछि उनीहरुले नगरपालिकासँंग त्यस्तो माग राखेका हुन् । 
कुनै बेला विकट भनेर चिनिन्थ्यो जिल्लाको चितपोल क्षेत्र । जिल्लाको पूर्वमा काभ्रेको सिमानासँंग जोडिएको साविकको चितपोल गाउँं विकास समिति (हालको सूर्यविनायक नगरपालिका वडा नं १० चितपोल)मा पहिला एम्वुलेन्ससम्म पुग्न नसकिने अवस्था थियो । कुनै बेला दुर्गम ठाउँको रुपमा परिचित चितपोल क्षेत्र अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नतीले मुहार नै फेरिंदै गएको छ ।
‘चार दशक अघिदेखि भक्तपुरको रिङरोडको रुपमा परिकल्पना भएको यहाँंको बाटो यसअघि नाममात्रको  थियो, स्थानीय बृद्ध उतम खडकाले सम्झे, यहाँं वर्खामा होइन, हिउँदमा पनि एम्वलेन्ससम्म आउनसक्ने अवस्था थिएन । तर अहिले कालोपत्रे भएर मुहार नै फेरिएको छ ।’ भक्तपुर चक्रपथ अन्तर्गतको सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिकाको ताथली लगायतका गाउँ जोड्ने सडक अहिले पक्की र कालोपत्रे भएको छ । 
४० वर्ष अगाडि खुलेको सडक बजेट अभावमा केही वर्ष अघिसम्म हिंडडुल गर्न पनि सकस थियो । तर अहिले अहिले कालोपत्रेपछि हरेक काम सहजै गर्न सकिने भएको स्थानीय बताउँछन् । २०६३ सालमा ट्रयाक खोलेको यो सडकको यतिखेर कालोपत्रेले पूर्णता पाएको हो । सडक कालोपत्रे भएसँगै चित्तपोलका तीन हजार पाँंच सय घरधुरीले सहजता अनुभव मात्रै गरेका छैनन्, गाउँमै सरकार आएको अनुभूति गरेका छन् । 
स्थानीय नवीन खड्काले अस्तिसम्म पनि भीर जस्तै सडक अहिले सडक फराकिलो मात्रै नभई सफा अनि चिल्लो भएका कारण सडकमै सुतौ सुतौं जस्तो गरी आनन्द आएको बताए । सडक बनेपछि स्थानीयमा खुसीको सीमा छैन । अव थप उनीहरुको एउटा इच्छा छ, भाडाको सवारीसाधन चलोस् । सडक बनेपछि सवारीसाधन नचल्दा पूरै कालोपत्रे चिल्लो सडक सुनसान जस्तै छ अहिले । 
काभ्रेको साँगा नेपाल प्रहरी स्कुलबाट सुरु हुने सूर्यविनायक नगरपालिका–१० भंगाल हुँदै खड्का गाउँ सल्लाघारी चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिका शहरी पूर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेले एम्बुलेन्स समेत आउन नसक्ने यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण सम्पन्न गरेको र अहिले सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरेको जानकारी गराए । संघ सरकारको बजेट र नगरपालिकाको बजेटलाई मिलाएर कूल तीन करोडको लागतमा ६ मिटर चौडा ३.५ किलोमिटर सडक कालोपत्र र ढलान गरी पक्की बनाएको उनले बताए । यसका कारण स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।
भक्तपुरका दुई नगरपालिका र तत्कालिन १६ वटा गाउँ विकास समिति जोड्ने गरी यो सडकको रेखांकन ४० वर्ष अघि गरिएको थियो । सिमित बजेट विनियोजन गर्दै सडक निर्माण र स्त्तोरन्नतीको काम हुँदैं आएको यहाँ राज्य पुर्नसंरचना भएपछि चित्तपोल सूर्यविनायक नगरपालिका–१० वडा खुम्चिन पुग्यो । सिमित स्रोत साधनका बावजुद वडाको विकासमा पूर्वाधार निर्माणले गति लिन नसकेपछि स्थानीयले मुख्य प्राथमिकतामा सडकलाई पारेको सूर्यविनायक नगरपालिका वडा नं १० का वडा अध्यक्ष शिवराम राउत बताउँंछन् । ग्रामिण रिङरोड सडक पक्की र कालोपत्रे गर्न सफल भएर सडक संजालले पूर्णता पाएपछि स्थानीयले सहज दैनिकी जीउन थालेको उनले जनाए ।
गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको स्थानीय बताउँछन् । तरकारी लिन गाउँमै गाडी आउन थालेपछि अहिले गाउँकै मुहार नै फेरिएको उनीहरुको भनाई छ । ४० वर्ष अगाडि ट्रयाक खुलेको यो सडकमा एक टिप ग्राइबेल समेत नगरेको अवस्थामा अहिले कालोपत्र गर्न सफल हो । 
सडकसँगै स्थानीयको जनजीवन फेरिन थालेको छ । सडक पूर्वाधारको विकासले यहाँ शहरीकरण बढदै गएको छ ।

Comments