आज दधिकोट खानेपानीको चुनाव ः कसले मार्ला बाजी ?
असार ३०, २०८१, शनिबार | विहान ०४:०३ बजे | 70
भक्तपुर । भक्तपुरको दधिकोट शहरी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतदलहरुवीच भीडन्त हुने भएको छ । सूर्यविनायक नगरपालिका वडा नं १ र ४ दधिकोटबासीले उपभोग गर्दै आएको खानेपानी उपभोक्ता समितिमा आफनो वर्चस्व जगाउन पार्टीहरु चुनावमा होमिएका हुन् । चुनावमा मुख्यतया दुई वटा पार्टीगत प्यानलवीच तीव्र प्रतिस्पर्धा हुँंदैछ । चुनाव असार २९ गते शनिबार विद्युतीय माध्यमबाट हुनेछ ।
एमाले बलियो रहेको यो क्षेत्रमा एमालेको एक्लो प्यानल खडा छ । त्यसकाविरुद्ध नेपाली कांग्रेस, माओवादी, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, राप्रपा नेपाललगायतको दलको अर्काे गठबन्धन छ । साथै स्वतन्त्र उम्मदारको अर्काे प्यानल पनि छ । तर त्यो प्यानलबाट अध्यक्षसहित चार पदका लागि चार जना मात्रै उम्मेदबारी परेको छ ।
खानेपानी उपभोक्ता समितिका लागि एमालेको एक्लो प्यानलबाट अध्यक्षमा कृष्णहरि खड्काको नेतृत्वमा प्यानल छ । कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, राप्रपा नेपालबाट भने श्रीकृष्ण विष्टको अध्यक्षतामा अर्काे प्यानल नै उम्मेदबार छन् । भागवन्डामा गरिएको गठबन्धनमा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई सचिव र रास्वपालाई कोषाध्यक्षको उम्मेदबारी दिइएको छ ।
चुनावमा कुल मतदाता तीन हजार ५६ जना छन् । एउटा धाराबाट एकजना सदस्य मतदाता हुन् । समितिबाट तीन हजार आठ सय ६४ वटा धाराहरु वितरित छन् । तर तीन महिनादेखि खानेपानीको शुल्क नबुझाएका, पम्प लगाएर पानी तानेर कारबाहीमा परेकालगायतलाई मतदानमा सहभागी नगराउने निर्वाचन समितिको निर्णय अनुसार वितरित धारा संख्या भन्दा मतदाता नामावली कम भएको हो ।
दधिकोट शहरी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष अनिल श्रेष्ठका अनुसार ३१ पदका लागि ६८ जनाको उम्मेदबारी परेको छ । मुख्यगरी दुई वटा पार्टीगत प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ, २०६८ सालदेखि अध्यक्ष रहेर नेतृत्व गरिरहेका श्रेष्ठले भने, खानेपानी जस्तो विषयमा यसरी राजनीति नगरेको भए हुन्थ्यो ।
यसअघि यो क्षेत्रमा जेठदेखि नै चुनाव लागेको थियो । निर्वाचन तालिका अनुसार जेठ २६ गते मतदाता नामावली सार्वजनिक गरेको थियो । उम्मेदबारको मनोनयन दर्ता असार १ गते भएको थियो । असार ८ गते उम्मेदबारको अन्तिम नामावली प्रकाशन भएको थियो । अहिले निर्वाचनका लागि प्रचारप्रसार कार्य जारी छ ।
असार १४ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकोमा ४ जनाले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । यसरी उम्मेदवारी फिर्ता लिनेहरुमा सचिव पदका उम्मेदवार रुद्रप्रसाद काफ्ले, अन्तलिङ्गेश्वर खानेपानी वितरण प्रणाली संयोजकका उम्मेदवार विदुर न्यौपाने तथा तर्खगाल खानेपानी वितरण प्रणाली संयोजकका उम्मेदवार सानुभाइ पन्थ र उदिपकुमार खड्का रहेका थिए ।
खानेपानी जस्तो विषयमा पार्टीगत भागवन्डाको उम्मेदबारी परेको भन्दै स्थानीय रुद्रप्रसाद काफ्लेले त्यसो नगर्न अपिल नै प्रकाशित गरेका छन् ।
मलाई खानेपानी जस्तो पबित्र सस्थामा राजनीति हुनु हुदैन र सुहाउँदैन पनि जस्तो लागेको छ, उनको अपिलमा उल्लेख छ, अझ त्यसमा पनि राजनीतिक प्यानल र गठबन्धन गरीगरी चुन्ने चुनिने प्रक्रियाको म बिरोधी हुँ ।
यसरी नै विभिन्न व्यक्तिहरुले यसको विरोध जनाएका छन् । अर्का एकजनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, कांग्रेस, एमाले ,माओवादी, राप्रपा, राप्रपा नेपाल, रा.स्व.पा.....आदि पार्टीमा त्याग र बलिदानी छ भने तपाईंको कदर तपाईंको आफ्नै राजनीतिक दलमा हुन्छ, खानेपानीमा होइन । त्यसैले उम्मेदवार छनोट गर्दा खानेपानी सम्बन्धी जानकारलाई मात्रै चुनौ, कुनै राजनीतिक दलका कार्यकर्ताको लागि होइन ,राजनीतिक दलका लागि ठूलो मैदान खाली छ । त्यो हो स्थानीय निकायको चुनाव, प्रदेश सरकारको चुनाव र संघीय सांसदको चुनाव ।
सूर्यविनायक नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लछुराम न्यौपानले दलगत आधारमा चुनाव हुन लागेको होइन भनी बचाउ गरे । उनले भने, पार्टीगत रुपमा आस्था हुनु एउटा कुरा हो, उपभोक्ता समितिमा चुनाव हुनु अर्काे कुरा ।
२०७७ सालमा गरिएको सर्वेक्षण अनुसार समितिको खानेपानीबाट १८ हजार स्थानीय लाभान्बित भएका थिए । हाल जनसंख्या वढ्दो रहेकोले यो समितिबाट वितरित खानेपानीबाट २५ हजार वढी जनता लाभान्बित भएको अनुमान छ । १७ वटा वोरिंग, दुई वटा पम्प वेल र एउटा मुहान गरी यसका २० वटा खानेपानीका मुहानहरु छन् ।