कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्यका पदाधिकारीहरुसँग छलफल
कार्तिक २६, २०७७, बुधबार | दिउँसो ०२:२० बजे | 100
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभयो ।
छलफलमा प्रमुख प्रजापतिले कोरोनाबाट नगरबासी जनतालाई जोगाउन सबैको संयुक्त प्रयास आवश्यक भएको बताउनुहुँदै तिहारको समयमा भीडभाड हुने कुनै किसिमको औपचारिक कार्यक्रम नगर्न र न्हु दँ र्यालीजस्ता कार्यक्रमहरु स्थगित गर्न पहल गरी दिनुहुन बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले भक्तपुर नगरपालिकाले कोरोना रोकथामको लागि गरिरहेको काम सराहनीय भएको बताउनुहुँदै आफ्नो संस्थाको तर्फबाट खुला रुपमा कुनै पनि कार्यक्रम नगर्ने अरुलाई पनि कार्यक्रमहरु नगर्न विज्ञप्तिमार्फत आह्वान गरी सहयोग गर्ने वचन दिनुभयो ।
छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, बिराट नेपालभाषा साहित्य सम्मेलनका कोषाध्यक्ष रामगोपाल चगुठी पनि उपस्थित हुनुुहुन्थ्यो ।