नेपाली बुद्धमूर्ति जापानी बुद्ध मन्दिरलाई उपहार
असार १७, २०८१, आइतबार | विहान ११:३५ बजे | 90
जापान । जापानस्थित शिजुओका शहरको होन्जान खाइच्यजी मन्दिरमा सफ्टवेयर इन्जिनियर प्रो. नरेश महर्जन र जापान देशकै ठुला व्यापारीका पहिचान बोकेका सुगियामाज्युले नेपालबाट भूमिस्पर्श बुद्ध लगेर दान दिनुभएको छ । होन्जान खाइच्यजी मन्दिरका संरक्षक पुजारी नाखाज्यो निचियू (जापानी भिक्षु) ले आज बिहान स्थानीय समय अनुसार साढे आठ बजेको साइतमा भूस्पर्श बुद्ध भगवानको मूर्तिलाई मन्दिरमा भित्र्याई उपासक उपासिकाहरुकामाझ बुद्ध पाठ गरेर मन्दिरमा प्रतिस्थापन गर्नुभएको थियो ।
होन्जान खाइच्यजी बुद्ध मन्दिर जापान देशभरिमा नै निकै पुरानो बुद्ध मन्दिरमध्ये एक हो । आठौं शताब्दीमा हेइआन शासन कालमा यो मन्दिरको स्थापना भएको हो । निकै क्षेत्रफलमा फैलिएको यो मन्दिर शान्त वातावरणमा ध्यान बस्न लायक मन्दिर मध्ये एक हो ।
होन्जान खाइच्यजी मन्दिरको भुँई तल्लाको ठुलो हलमा जापानी ठुलो बुद्ध राखिएको छ भने त्यसको माथिल्लो तल्लामा नेपालबाट लगेको भूमिस्पर्श नेपाली बुद्ध राखिने त्यस मन्दिरका संरक्षक भिक्षु नाखाज्यो निचियूले बताउनुभएको छ । स्मरणीय होस् यो भूमिस्पर्श बुद्ध नेपालबाट जापान पठाउनको निमित्त प्रो. नरेश महर्जनका साथी उपासिका रीता महर्जनले सहयोग गर्नुभएको थियो ।
बुद्ध जन्मेको देश नेपालदेखि बुद्ध ल्याएर मन्दिरमा दान दिनुभएका सफ्टवेयर इन्जिनियर प्रो. नरेश महर्जन र व्यापारी सुगियामाज्यु तथा सहयोगी उपासिका रीता महर्जनज्युलाई मन्दिरका संरक्षक भिक्षु नाखाज्यो निचियूद्वारा साधुवाद र आशिर्वाद प्रदान गर्नुभएको थियो ।