मध्यपुर थिमिव्यापी माविस्तरीय पुस्तक समीक्षामा प्रथम विद्यार्थीको समीक्षा


असार १३, २०८१, बुधबार | दिउँसो ०३:३३ बजे | 30


मध्यपुर थिमिव्यापी माविस्तरीय पुस्तक समीक्षामा प्रथम विद्यार्थीको समीक्षा

जेनिशा गोर्खाली  
‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी’ पुस्तकका लेखक हरिबहादुर श्रेष्ठ हुन् । यस पुस्तकको प्रकाशक जनप्रकाशन गृह हो । यो पुस्तकको चौथो संस्करण २०८० असोजमा निकालिएको हो । यो पुस्तक १०,००० प्रति छापिएको छ । यो पुस्तकको आवरण कला दामोदर सुवालले सिर्जना गरेका हुन् । यस पुस्तकको मूल्य रु.२०० रहेको छ ।
यस पुस्तकका लेखकले विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्नका लागि यस चिठीमा महत्वपूर्ण कुरा प्रस्तुत गरेका छन् । पुस्तकमा लेखकको संसारलाई हेर्ने दृष्टिकोण स्पष्ट महसुस गर्न सकिन्छ । पुस्तकमा मानिसको दिनदशा बदल्ने भावना र चिन्तन रहेको छ । लेखकले पुस्तकमा कामदारवर्गका छोराछोरीहरूलाई मिहिनेत गर्न प्रोत्साहन गरेका छन् ।
‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी’ पुस्तकमा चार फरक फरक चिठीहरू समावेश गरिएका छन् ।
पुस्तकको पहिलो चिठी ‘साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई विदेशमा बसेको दाजुको चिठी रहेको छ । यस चिठीमा लेखकले अहिलेका विद्यार्थीहरूको मुख्य उद्देश्य नै डाक्टर, इन्जिनियर र वैज्ञानिक बन्ने हुन्छ भनेका छन् । हामीले डाक्टरहरूलाई बाहिरबाट मात्रै देख्छौँ । हामीले उनीहरूका नयाँ लुगा, गाडी, घरहरू मात्र देख्छौँ । हामीले उनीहरूका जीवनको कष्ट देखेका हुँदैनाँै । हामीले उनीहरूको जिम्मेवारी र दायित्व देखेका हुँदैनौँ । त्यसैले हामी पैसा कमाउन र मोजमज्जा गर्नका लागि डाक्टरी पढ्ने गर्छौँ । लेखकले बाहिरबाट हेर्दा राम्रा देखिने कति सामानहरू भित्रबाट नराम्रा र खस्रो हुन्छन् भनेका छन् र बाहिरबाट हेर्दा नराम्रा देखिने कति सामानहरू भित्रबाट राम्रा, मिठा र गुलिया हुन्छन् भनेका छन् ।
परिवारमा कोही बिरामी भए भने उनीहरूलाई हेल्थपोस्ट लग्न अरु दुई, तीन सदस्यको काम रोकिन्छ । डाक्टरहरू हेल्थपोस्ट छोडेर गाउँगाउँमा उपचार गर्न जान सक्दैनन् । सबै रोगीहरूलाई सित्तैमा औषधि दिने व्यवस्था सरकारले पनि मिलाएको छैन । धेरैजसो डाक्टरहरू धनीका छोराछोरीहरू हुनेभएकाले उनीहरू गरिबहरूका दुःख बुझ्दैनन् । केही डाक्टरहरू गरिबलाई निःशुल्क वितरणका लागि आएका औषधिहरू पनि आफै लान्छन् । रोगीहरूलाई नदिई आफ्ना आफन्तहरूलाई बाँड्छन् । लेखकले सबै डाक्टरहरू खराब हुँदैनन् पनि भनेका छन् । केही डाक्टरहरू गरिबहरूलाई सेवा गर्छन् । आफूलाई नमुनाका लागि आएका औषधि र रोगीलाई आएका औषधि पनि रोगीहरूलाई दिन्छन् । आवश्यकता परे आधा रातमा पनि बिरामी हेर्न जान्छन् ।
हामीले कामलाई ठुलो सानो भन्नुहुँदैन । डाक्टरी पढेर पनि राजनीतिमा लागेका र क्रान्तिकारी बनेका धेरै व्यक्तिहरूका बारेमा हामीले सुनेका छौँ । हाम्रो देशमा डाक्टरहरूको कमी छ । एकजना डाक्टरले हजारौँ रोगीहरूलाई हेर्नुपर्ने हुन्छ । क्रान्ति भएपछि मात्र हजारौँ डाक्टर, इन्जिनियर, वैज्ञानिकहरू जन्माउन सकिन्छ भनेर चिठीमा लेखेका छन् ।
पुस्तकको दोस्रो चिठी ‘इन्जिनियर र वैज्ञानिक बन्न चाहने भाइबहिनीलाई चिठी रहेको छ । इन्जिनियर र गीत सङ्गीतका कलाकारहरूसमेत राजनीतिबाट अलग छैनन् । इन्जिनियर बन्नु राम्रो हो तर जिम्मेवारी पनि बोक्नुपर्छ । अहिलेको समयमा सामान्य व्यक्तिको घर बनाउने औकात छैन भने इन्जिनियरहरू बङ्गला बनाउन सक्छन् । इन्जिनियरहरू ठेकेदारहरूसँग मिल्छन् । आवश्यकताभन्दा बढी र कमसल सामानहरू राख्न दिएर पैसा खान्छन् । क्रान्ति पहिले इन्जिनियरहरले पनि जानेर वा नजानेर शोषक र शोषितवर्गको राजनीतिमा टेवा पु¥याएका थिए ।
हामीले पनि हाम्रो देशको हितको लागि राजनीतिमा आउनुपर्छ । लेखकले इन्जिनियर भएर पनि राजनीतिमा लागेका व्यक्तिहरूको उदाहरण दिएका छन् । यसले इन्जिनियरहरू राजनीतिमा लाग्दैनन् र लाग्नु हुँदैन भन्ने कुरा असत्य हो भनेर साबित गर्न सकिन्छ । त्यस्तै वैज्ञानिकहरू पनि राजनीतिबाट अलग हुँदैनन् । वैज्ञानिकहरू पनि समाजमा बस्ने भएकाले वैज्ञानिकहरूलाई पनि राजनीतिले प्रभाव पारेकै हुन्छ । अहिले पनि संसारका कति गरिबहरू बिजुली र टेलिफोन सुविधाबाट वञ्चित नै छन् । केही गरिब व्यक्तिहरूले अहिले पनि विद्युुतीय सुविधा उपयोग गर्न पाएका छैनन् ।
पुस्तकको तेस्रो चिठी मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी रहेको छ । यस चिठीमा लेखकले विभिन्न शीर्षकअन्र्तगत त्यस विषयको विस्तृत विश्लेषण गरेका छन् ।
अध्ययन विषय ः हामीले हाम्रो इच्छाभन्दा योग्यता र क्षमताअनुसार विषय अध्ययन गर्नुपर्छ । हामीले जुन विषय अध्ययन गरे पनि सफलता पाउन धेरै मिहिनेत गर्नुपर्छ ।
राजनीतिकशास्त्र ः देशलाई माथि उकास्नको लागि राम्रो दिशा निर्देशन गर्ने व्यक्तिको आवश्यकता पर्छ । त्यसैले राजनीतिशास्त्र अध्ययन गर्नु आवश्यक हुन्छ ।
अर्थशास्त्र ः समाजवादी अर्थशास्त्र भएमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउन सकिन्छ । यसमा कसैलाई शोषण गरिँदैन र भेदभाव गरिँदैन ।
जलस्रोतः नेपाल जलस्रोतमा विश्वकै धनी देश हो । तर, जलस्रोतविद्हरूको कमी भएकाले हाम्रो देशले यसबाट फाइदा लिन सकेको छैन । त्यसैले, यसको फाइदा लिनको लागि जलस्रोतविद्हरूको आवश्यकता छ ।
पत्रकारिताः हामीले किताबमा नपढेको र नसुनेको धेरै कुरा पत्रकारहरूबाट थाहा पाउँछौँ । पत्रकारहरूले देशबिच सम्बन्ध बनाउन योगदान दिएको हुन्छ ।
कृषिः हाम्रो देशमा नक्कली रासायनिक मल भित्रिरहेका छन् । यसलाई रोक्नका लागि युवाहरू कृषिमा लाग्नुपर्छ । हामीले यस्ता समस्या रोक्नका लागि कृषि विषय अध्ययन गर्नु आवश्यक हुन्छ ।
इतिहासः इतिहासले हामीलाई आजको बाटोमा हिँडाउछ र भोलिको बाटो निर्माण गर्छ । इतिहासलाई वीरहरूको वीरताको कथाको रूपमा मात्र नलिई त्यसको भौतिकवादी व्याख्या गर्नुपर्छ ।
पर्यटनः कुनै पनि देशको पर्यटनले व्यवसाय विकास र देश विकासमा योगदान पु¥याउँछ । हामीले पर्यटन विषयको अध्ययन विदेशमा गएर होइन स्वदेशमै सिक्नुपर्छ र पर्यटन क्षेत्रबारे जानकारी राख्नुपर्छ ।
चित्रकला र मूर्तिकलाः हाम्रो देशमा रहेका चित्रकला र मूर्तिकलाका धेरै विशेषताहरू छन् । चित्रकला र मूर्तिकलाले हाम्रो ध्यान आकर्षण गर्छन्
वन विनासः हामीले वनको संरक्षण गर्नुपर्छ । कसैले वनको विनास गर्दै छ भने त्यसको विरुद्ध आवाज उठाउनुपर्छ ।
पुस्तकको अन्तिम चिठी विश्वविद्यालयमा पढ्ने भाइबहिनीलाई चिठी रहेको छ । अहिलेको समयमा युवाहरूको ध्यान पैसा कमाउन र मोजमज्जा गर्नेतर्फ रहेको छ । अहिलेका युवाहरू नक्कली विवाहको कागजात बनाएर विदेश गइरहेका छन् । उनीहरू आफ्नो स्वार्थका लागि विदेश जान्छन् र त्यही बस्छन् । विदेश गयो भने धेरै पैसा कमाउन सकिन्छ भनी उनीहरू सोच्छन् । युवाहरू सबै विदेश पलायन हुनु विकासशील देशको ठुलो समस्या हो । यदि सबै युवाहरू विदेश जान थाले भने देश विकास हुँदैन । देश कहिले पनि अघि बढ्न सक्दैन । विदेशमा गएर ज्ञान र सीप सिक्नु नराम्रो होइन तर विदेशमा सिकेका सीपहरू हामीले स्वदेश आएर प्रयोग गर्नुपर्छ । हामीले अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हुन्छ । विदेशमा थोरै श्रम गरेर धेरै पैसा कमाउनुभन्दा आफ्नै देशमा धेरै श्रम गरे हामीले हाम्रो देश विकासतर्फ अघि बढाउन सक्छौँ ।
पहिलेको समत्न्दा अहिलेको समय धेरै फरक छ । पहिले छात्राहरूले केही गर्दैनथे भने अहिले जुनसुकै क्षेत्रमा पनि हामी छात्राहरूलाई देख्न सक्छौँ । डाक्टर, इन्जिनियर, वैज्ञानिक क्षेत्रमा छात्राहरू पनि हुन्छन् । छात्राहरू पनि अहिले कोही भन्दा कम छैन । सबै क्षेत्रमा छात्राहरू पनि अघि बढ्दै गएका छन् । हामीले हाम्रो देशको हित हुने काम गर्नुपर्छ । हामीले जुन विषय अध्ययन गरे पनि त्यस विषयको राम्रो जानकारी लिनुपर्छ ।
पुस्तकका लेखक (हरिबहादुर श्रेष्ठ) हामी जुनसुकै पेसामा आबद्ध भए पनि राजनीतिबाट अलग हुन सक्दैनौँ भनेका छन् । हामीले जुनसुकै विषय अध्ययन गरे पनि मिहिनेत गरे सफलता पाउन सक्छौँ भनेर लेखकले यस पुस्तक चिठीहरूमार्फत हामीलाई बताएका छन् । हामी क्रान्तिकारी बन्नुपर्छ भन्ने सन्देश यस पुस्तकबाट पाउन सकिन्छ । हामीले हाम्रो देशको हित हुने कार्य गर्नुपर्छ । डाक्टर, इन्जिनियर जस्तोसुकै पेसा भए पनि हामीले अरुको सेवा गर्नुपर्छ । हामी विदेशको ज्यामी बन्नु हुँदैन । हामी पैसामुखी हुनु हुँदैन, हामी सधैँ इमानदार हुनुपर्छ । हामीले मोजमज्जा गर्नका लगि कुनै पेसा रोज्नु हुँदैन । हामीले अरुको देखासिकी गर्नु हुँदैन । काग कराउँदै छ भने पनि हामीले हाम्रो योग्यता र क्षमतालाई ध्यानमा राखी विषय अध्ययन गर्नुपर्छ ।
(मध्यपुर थिमि नगरपालिका वडा नं. ८ ले हालै बोदेमा मध्यपुर थिमिव्यापी माध्यमिकस्तरीय पुस्तक समीक्षा प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगितामा माउन्ट सिनाइ इ.बो. स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी जेनिशा गोर्खाली प्रथम हुनुभएको थियो ।)

Comments