कोभिडको महामारी परेका श्रमिकहरूको व्यवस्थापनमा स्थानीय तहको भूमिका’ बारे छलफल
कार्तिक २५, २०७७, मङ्गलबार | विहान ०४:३४ बजे | 50
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा सोमबार संघीय संसद सचिवालयको सभाकक्षमा बैठक सम्पन्न भयो ।
समितिका अध्यक्ष माननीय विमलप्रसाद श्रीवास्तवको सभातित्वमा सम्पन्न उक्त बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महानगर र नगरपालिकाबाट भए÷गरेका गतिविधि र कार्यहरूबारे अवगत गराउनुभयो ।
बैठकमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले कोरोना महामारीबीच काठमाडौं उपत्यकाको सरसफाईमा विशेष जोड दिनुपर्ने र विपन्न वर्गका श्रमिकहरूको निम्ति रोजगारी सिर्जनाको लागि स्थानीय तहहरूले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै गएको औंल्याउनुहुँदै सभापति श्रीवास्तवले बजारमा हुने भीड व्यवस्थापन, श्रमिक जनताको लागि रोजगारी सिर्जना, ढल व्यवस्थापनलगायतका कार्यहरूको व्यवस्थापनको लागि आग्रह गर्नुभयो । भक्तपुर नगरपालिकाले एकद्वार प्रणालीमार्फत कोभिड महामारीमा परेका पीडित जनतालाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।
बैठकमा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकास्तरीय आइसोलेसन निर्माणको लागि आवश्यक पहल भइरहेको अवगत गराउनुहुँदै उपत्यकाका अस्पतालहरूमा कोरोना संक्रमितहरूको उपचारको लागि आइसीयु र भेन्टिलेटरको अभाव रहेको औंल्याउनुुभयो । काठमाडौं महानपाले मानव सेवा आश्रमसँग सहकार्य गरी श्रमिक जनताको हितमा आवश्यक सहयोग कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै प्रमुख शाक्यले काठमाडांै महानगरपालिकाले २३ हजार नगरबासीहरूको निःशुल्क पीसीआर परीक्षण गरिसकेको बताउनुभयो ।
विभिन्न संघ संस्थाले काठमाडौंको खुलामञ्चमा अव्यवस्थित तरिकाले गरिरहेकोे खाना वितरण कार्यलाई काठमाडौं महानपाले बन्द गर्ने निर्णय गरेको बताउनुहुँदै उहाँले कोरोना संक्रमण जोखिमका कारण काठमाडौंको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा र पर्वहरू सामान्य रुपमा मनाउन नगरबासीहरूमाझ आग्रह गरेको बताउनुभयो ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य माननीय बिन्दा पाण्डेले काठमाडौंको खुलामञ्चमा खुला भइरहेको अस्वस्थकर खाना खुवाउने कार्य बन्द गरी उचित ठाउ“को व्यवस्थापन गर्नुपर्ने, आइसोलेसनको व्यवस्थापन प्रभावकारी ढंगबाट हुुनपर्ने र स्थानीय तहका श्रमिकहरूको सूची दर्ता व्यवस्थित ढंगले राख्नुपर्ने बताउनुभयो ।
मा. अभिषेकप्रताप शाहले हाल समुदायस्तरमा कोरोना संक्रमितहरू बढिरहेको हुँदा रोकथाम र नियन्त्रणमा थप चुनौती थपिरहेको बताउनुहुँदै उपत्यका छिर्ने नाकाहरूमा व्यवस्थित ढंगले सवारीसाधनहरूमा विषाणुनासक औषधिहरू छर्ने कार्य हुनुपर्ने, गरिब वर्गलाई खाना खुवाउनुभन्दा रोजगारी सिर्जना गरिनुपर्ने बताउनुभयो ।
बैठकमा नगर प्रमुख प्रजापति, महानगरपालिकाका प्रमुख शाक्यले कोभिडको महामारीमा परेका श्रमिकहरूको व्यवस्थापनमा स्थानीय तहले खेलिरहेको भूमिकामाथि उठेका जिज्ञासामाथि प्रष्ट पार्नुभयो ।
बैठकमा श्रम मन्त्रालयका प्रतिनिधि र वैदेशिक रोजगारका महानिर्देशकलगायतले कोभिड नियन्त्रणमा आफ्नो क्षेत्रबाट भए÷गरेका कार्यहरूबारे विस्तृतमा जानकारी दिनुभयो ।