काठमाडौंमा अधिकतम तापक्रम क्रमिक रूपमा बढ्दै, सतर्क रहन आग्रह


असार ४, २०८१, सोमबार | विहान ०५:३१ बजे | 80


काठमाडौंमा अधिकतम तापक्रम क्रमिक रूपमा बढ्दै, सतर्क रहन आग्रह

पछिल्लो ३० वर्ष काठमाडौंको अधिकतम तापक्रम क्रमिक रूपमा शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशत दरले बढ्दै गएको पाइएको छ। मे र जुन सबैभन्दा गर्मी महिना मानिन्छ। यी दुई महिनामा बढ्दै गएका ताता दिनहरूको ‘ट्रेन्ड’ लाई हेर्दा यस्तो देखिएको मौसमविद्ले जनाएका छन्।

‘पछिल्लो ३० वर्षको तापक्रमलाई विश्लेषण गर्दा काठमाडौंमा अधिकतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको देखिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यस वर्ष काठमाडौंमा अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियससम्म पुगेको छ।

अर्को वर्ष ठयाक्कै शून्य दशमलव शून्य पाँच प्रतिशतले नबढ्न सक्छ । तर पछिल्लो ३० वर्षको तापक्रमलाई विश्लेषण गर्दा काठमाडौंमा अधिकतम तापक्रमको ट्रेन्ड बढ्दै गएको देखिएको छ।’

महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा काठमाडौंको अधिकतम तापक्रम सबैभन्दा बढी ३६ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ। सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम त्यति पुगेको थियो । त्यो रेकर्ड भने यस वर्ष पनि तोडिएको छैन।

गत शनिबार काठमाडौंको तापक्रम ३५ दशमलव ३ डिग्री पुगेको छ। यो सन् १९८९ यताको सबैभन्दा बढी तापक्रम हो। यस वर्ष काठमाडौंलगायत देशभरि नै पोहोरभन्दा बढी गर्मी भएको छ। मौसमविद्हरूले पश्चिम तराईमा अझै गर्मी बढ्न सक्ने अनुमान गरेका छन्।

गत जेठ १८ काठमाडौंको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको थियो । महाशाखाका अनुसार पोहोर जुन महिनामा काठमाडौंको तापक्रम यति पुगेको थिएन।

 पोहोर काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्रीसम्म पुगेका थियो। मौसमविद्का अनुसार गर्मीयाममा सूर्यको किरण बिनाअवरोध सोझै पृथ्वीमा आउँदा तापक्रम बढ्छ। गर्मीयाममा पनि बादल लागेर सूर्यको किरणमा अवरोध भएमा तापक्रम घट्छ।

सतर्क रहन आग्रह

महाशाखाले आगामी केही दिन देशको मध्य तथा पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार असार ६ गतेसम्म मध्य तथा पश्चिम तराईमा तातो हावा चल्ने सम्भावना छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने मौसमविद्को भनाइ छ।

तातो हावाको असरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा सकेसम्म नजाने, घाममा नबस्ने, हल्का लुगा लगाउने, सुतीका कपडा लगाउने, बाहिर निस्कनु परे कपडाले टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनुपर्छ।

यस वर्ष नेपालमा मात्र नभई छिमेकी देशमा भारतमासमेत तापक्रम बढेको छ। केही दिनअघि भारतको राजधानी दिल्लीको अधिकतम तापक्रम ५३ डिग्री पुगेको थियो।

 महाशाखाका अनुसार केही दिनयता नेपालगन्ज, धनगढी, दीपायल, वीरेन्द्रनगरमा तापक्रम बढेको छ। ती ठाउँमा पछिल्ला केही दिन अधिकतम तापक्रम ४२/४३ डिग्रीसम्म पुगेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार आइतबार अधिकतम तापक्रम नेपालगन्जमा ४३.८, धनगढीमा ४२.८, घोराहीमा ३८.६ र वीरेन्द्रनगरमा ४१.४ डिग्री पुगेको छ।

काठमाडौंमा कहिले भित्रिन्छ मनसुन

मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा २ दिनपछि मनसुन भित्रिने सम्भावाना छ। ‘तर पनि यत्ति समयमा काठमाडौंमा मनुसन भित्रिन्छ भनेर ठयाक्कै भन्न सकिने स्थिति छैन,’ उनले भने ।

उनका अनुसार शनिबार राति काठमाडौंमा भएको हल्का वर्षा मनुसनको प्रभाव होइन। यो स्थानीय वायुको प्रभाव हो। मौसमविद्का अनुसार नेपालको पूर्वी भागमा मौसम प्रवेश गरिसकेको छ। मनुसन देशभर फैलन भने केही समय लाग्ने देखिएको छ।

Comments