भक्तपुर नपाका प्रमुख र बीसीसीआई टोलीबीच भेट
जेठ २७, २०८१, आइतबार | दिउँसो ०२:१९ बजे | 30
भक्तपुर ः जिल्लास्थित भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) का टोलीबीच आइतबार भेटघाट भएको छ ।
नगर प्रमुख प्रजापति र बीसीसीआईकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा नेतृत्वको पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्मिलित टोलीबीच नगरपालिका कार्यालयमा भेट भएको हो । बीसीसीआई टोलीलाई स्वागत गर्दै प्रमुख प्रजापतिले सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासको लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य अत्यावश्यक रहेको भन्दै नगरपालिका भक्तपुर उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघ संस्थासँग सहकार्य गरी अगाडि बढ्न सदैव तयार रहेको बताए । उनले भक्तपुर नगरलाई सुन्दर बनाउनको लागि अव्यवस्थित रुपमा राखिएका पसलका छतहरु हटाउने काम भएको जानकारी दिए । उनले नगर सुन्दर भए नगरवासीहरुकै इज्जत बढ्ने भएकाले नगरपालिकाले गरेका यसप्रकारका असल कार्यहरुमा साथ र सहयोग गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरे ।
अन्य दाताहरुको भरमा नभई आफ्नै मेहनतमा सम्पदा संरक्षण लगायतका विकास निर्माणका कार्यहरु हुनुपर्ने मान्यताका साथ नगरपालिकाले काम गरिरहेको उनको भनाइ छ । उनले पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, संस्कृति जगेर्ना लगायतका काममा नगरपालिकाले थुप्रै उदाहरणीय कामहरु गरेका कारण देशका अन्य जिल्लाबाट समेत यहाँको कामको अनुशरण गरिरहेको बताए ।
भेटको क्रममा बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले नगरपालिकाको व्यवसायिक कृषिको विकास तथा प्रवद्र्धन, निर्यातमुखी हस्तकलाको विकास तथा प्रवद्र्धन एवं दिगो पर्यटन विकासका लागि नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयमा सल्लाह र सुझावहरु दिएका थिए । उनीहरुले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन बजार सञ्चालन गर्नुपर्ने, करको दर नभई दायरा वृद्धि गर्नुपर्ने, स्थानीय संस्कृति जगेर्नाको लागि बागागाजा लगायतका कलालाई व्यवसायिक बनाउँदै पुस्तान्तरण गर्दै जानुपर्ने, नगरपालिकाको पर्यटन, राजश्व, शिक्षा, स्वास्थ्य लगायतका विषयमा बस्ने बैठकमा भक्तपुर उद्योग वाणिज्य संघको पनि सहभागिता हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष धौबन्जाले नगरपालिकाको कृषि, हस्तकला र पर्यटन क्षेत्रमा विकासका लागि आगामी दिनमा नगरपालिका र संघबीच सहकार्य गरी गर्न सकिने कार्यक्रमहरुको प्रस्तावना प्रमुख प्रजापतिलाई पेश गरेकी थिइन् । प्रस्तावना बुझ्दै प्रमुख प्रजापतिले संघले पेश गरेको प्रस्तावसहित कार्यक्रम सञ्चालनको लागि सहयोग गर्ने बताए ।
फाेटाेमा हेर्नुहाेस्...