भूमि व्यवस्थापन सम्बन्धी एकहप्ते तालिमको समापन कार्यक्रम
कार्तिक २१, २०७७, शुक्रबार | दिउँसो ०२:०० बजे | 30
भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिंदै कर्मचारीको मूल्यांकन प्रमाणपत्रले नभई व्यवहारमा जनतालाई गर्ने बताउनुभयो ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र काभ्रेको आयोजनामा शुक्रबार भएको स्थानीय तहको लागि भूमि व्यवस्थापनसम्बन्धी एकहप्ते तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रजापतिले कृषि प्रधान देशमा रसायनिक मलविना धान रोप्नुपर्ने स्थितिले देशको अर्थतन्त्रमा नराम्रो असर पर्ने बताउनुभयो ।
उहाँले नेपालमै रसायनिक मल कारखाना स्थापना गरेको भए किसानले समयमा गुणस्तरीय मल प्राप्त गर्ने, कृषि उत्पादन बढ्ने र विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो ।
उहाँले नीति निर्माणातहरुको कमजोरीले गर्दा अन्नको भण्डारको रुपमा रहेको तराइ भारतको लागि पानीको भण्डार बनेको छ र हाम्रा लाखौं नागरिकहरु बर्सेनी डुबानमा परेका छन् भन्नुभयो । भारतले गरेको भूमि अतिक्रमण र अनियमित बाँध निर्माणको हामीले विरोध गर्नुपर्ने उहाँले भन्नुभयो ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावले कतिपय काममा असहजता महसुस गर्नुपरेको उल्लेख गर्नुहुँदै तीनै तहहरु आआफ्नो अधिकार क्षेत्रभित्र स्वायत्त छन् । कोही कसैको मातहतमा बस्नुपर्दैन, उहाँले भन्नुभयो ।
भूमि व्यवस्थापन केन्द्रका निर्देशक रमेश ज्ञवालीले नेपाल सरकारले यो वर्ष ६० वटा मालपोत कार्यालयहरुलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणाअनुसार कर्मचारीलाई दक्ष बनाउन तालिम सञ्चालन गरेको बताउनुभयो ।
तालिमबारे संक्षिप्त जानकारी तालिम संयोजक सञ्जय मानन्धरले प्रस्तुत गर्नुभयो भने भक्तपुर नपाका इन्जिनियरि हरिबहादुर सुवालले तालिमबाट कानुनी र व्यवहारिक ज्ञान प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।
भक्तपुर, काभ्रे र सिन्धुली गरी तीनवटा जिल्लाका स्थानीय तहका कर्मचारीहरुलाई भूमिसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको सभापतित्व कार्यकारी निर्देशक नारायण ज्ञवालीले गर्नुभएको थियो ।