ताथलीवासीको खानेपानीको तिर्खा मेट्दै, १६ करोडको योजना चालू
कार्तिक १८, २०७७, मङ्गलबार | विहान ०४:४५ बजे | 60
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली तथा आसपासलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गर्ने कार्य तीब्र रुपमा अघि बढेको छ । करिब १६ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न हुने क्रममा छ ।
योजना अन्तर्गत संस्थाले उपभोक्तालाई धारा वितरणका साथ पानी सूचारु गर्न थालेको छ । जनसमुदायले लगानी गर्ने ३० प्रतिशत रकम उठाउन केही समय लाग्ने भएकाले नगर विकास कोषबाट ऋणसमेत लिइएको छ । संस्थाका अध्यक्ष नकुल राउतले नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३ सय ७९ रुपैयाँ ऋण उपलब्ध गराउनका लागि सम्झौता भइसकेको बताए । यो आयोजनाबाट ताथली र आसपासका गरी १५०० घरधुरी खानेपानीबाट लाभान्वित हुनेछन् ।
मानिसको दैनिकी र जीवनका लागि आवश्यक खानेपानी बन्दोबस्त गरी जीवनलाई सहज बनाउने सहयात्रीको रुपमा रहेको खानेपानी आयोजनाले अहिलेसम्म ५ लाख लिटरको ट्यांकी र ४ वटा डिपबोरिङ गरिसकेको छ । ‘हालैमात्र २ वटा डिप बोरिङ सकाएका छौं, हामी खानेपानी सूचारु गर्न अझ तत्परताका साथ लागिरहेका छौं ।’ संस्थाका उपाध्यक्ष एकबहादुर खत्रीले भने ।
यो समाचार चाँगुपत्र मासिकको कार्तिक अंकमा पनि पढ्न सक्नुहुनेछ ।
उनले टोलटोलमा खानेपानी वितरण सुरु गरेर पानी वितरणको परीक्षण सुखद् रहेको बताउँदै पानी वितरण सूचारु भएसँगै उपभोक्ताबाट आएका सल्लाह, सुझाव र प्रतिक्रियालाई मनन् गरी संस्थाले उपभोक्ताहरुको खानेपानीको माग अनुसार काम गर्ने नीति तय गरेको बताए ।
संस्थाका उपाध्यक्ष खत्रीले अहिले धमाधम खानेपानीको धारा वितरण गरिरहेको जानकारी दिँदै खानेपानीको समस्यामा रहेका ताथलीवासीले यो खानेपानीले लिफ्ट प्रविधि अपनाएर फिल्टर गरिएको पानी वितरण सुरु गरेसँगै लाभ लिन थालेको जनाए । हामीले खानेपानी दिन थालेका छौं, यो सुरुवाती चरण हो, कहिँकहिँ केही केही समस्या पनि देखिएको छ, त्यसलाई हामी भरसक छिटो समाधान गर्ने क्रममा छौं ।’ उपाध्यक्ष खत्रीले भने ।