अन्तर्वार्ता ः विस्का जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण भक्तपरबासीलाई धन्यवाद ः भक्तपुर गुठी प्रमुख खिमा ओली
बैशाख ६, २०८१, बिहीबार | विहान ०९:५४ बजे | 15
आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्रा सफलतापूर्वक सम्पन्न गर्नुभयो, सर्वप्रथम यहाँं र यहाँंको टिमलाई बधाई छ ।
धन्यवाद सवैभन्दा पहिला वधाईका लागि । जहाँंसम्म यो वर्ष जात्रा पूर्ण रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको सवाल छ, त्यसमा म मात्रै होइन, सारा भक्तपुरबासी धन्यवादका पात्र हुनुहुन्छ ।
यो पटक झैझगडा, ढुंगामुढा मात्रै होइन, अरु कारणले पनि कुनै कसैलाई चोटपटक हुन पाएन । यस हिसावले पनि सारा भक्तपुरबासी खुशी छन् नि ?
अवश्य पनि । यहाँंले भनेजस्तै झैझगडा, हुलडंगा मात्रै नभई जात्राका कारणहरुले हुनसक्ने घाउचोट, मानवीय क्षतिका रुपमा कसैलाई पनि केही पनि हुन पाएन । यो हामी सवैको लागि खुशीको कुरा हो ।
यसरी जात्रा व्यवस्थित हुनुको कारणहरु चाहिं के देख्नुहुन्छ ?
पहिलो कुरा त मलाई लाग्छ मजवुद तयारी । यसका लागि निरन्तरको तयारी बैठक, बैठकका निर्णयहरु अनुसार सवैले इमान्दारितापूर्वक आआफनो दायित्वहरु पूरा गर्नु, सवैजना सचेत रहनु, सवैको सहयोग हुनु, तालिका अनुसार जात्रा सञ्चालन गर्नसक्नु आदि इत्यादि सफलतापूर्वक जात्राहरु सम्पन्न हुनसक्नुका कारणहरु जस्तो मलाई लाग्छ ।
यहाँंले भन्नुभए जस्तै समयमै जात्रा सुरु हुन पायो यो वर्ष । यसका कारणहरु चाहिं के होलान् ?
जात्रासँंग सरोकार राख्ने सवैजनालाई समय अनुसार गर्न गरेको अनुरोध, त्यही अनुसारको उहाँंहरुको संवेदनशिलता, समस्याको तत्काल समाधान गरिदिने लगायतले समयमै काम हुन पाएको अनुभब गर्दछु ।
समस्या भन्नुभयो । कस्तो समस्या ?
हैन, कुनै पनि काम गर गर भनेर मात्रै त हुँंदैन नि । काम गर्नका लागि अनेक समस्या आइरहेका हुन्छन् । त्यसकारण जहाँं समस्याहरु आइरहेको छ, म आफैं पुगेर पनि त्यसका लागि के चाहियो ? त्यो पूरा गरिदिएर पनि समयमै जात्रा तालिका अनुसार चलेको अनुभब गर्दछु ।
मानवीय क्षति त हुन पाएन तर भैलख त क्षतविक्षत छ नि ?
हो, यहाँंले भन्नुभए जस्तै भैलख क्षतविक्षत अवस्थामा छ । यसका एक होइन, अनेक कारणहरु देख्छु । पहिलो त काठहरु पुराना भए । दोश्रो एउटा रथ निरन्तर निरन्तर १३ चौध घण्ठा ननस्टप जवजस्त गुडाइरहँंदा समस्या त आउँंछ नै । जसरी हामी मानिस दिनभर काम गर्दा शिथिल हुन्छौं, त्यसरी रथलाई हजारौ मानिसहरुले जवरजस्त त्यति धेरै समय जवरजस्त तानिरहे पछि क्षति हुनु सामान्य कुरा हो ।
भैलद्य यतिखेर नासमनामा छ । अव यसको व्यवस्थापन कहिले हुन्छ ?
जात्राको अन्तिम दिन बुधबार साँंझबाट तान्न सुरु भएको भैलद्य विहीबार विहानसम्म पनि तानिरहेको अवस्था थियो । तर नासमनाको त्यो मन्दिर, घरमा अडकिएको रहेछ । त्यो अवस्थामा तान्दा मन्दिर, घर भत्कनसक्ने सम्भावना देखियो । यही कारण रथ तान्न रोकिएको रहेछ ।
अव के गर्नुहुन्छ त ?
परम्परा अनुसार जात्रा सकेपछि भैलद्यको पूजा गर्ने चलन छ । त्यो पूजा चार दिनभित्र साइड हेरेर हुन्छ । यसकारण पूजा सकेपछि यसको व्यवस्थापन गर्ने काम हुन्छ ।
अनि ?
पूजा सकेपछि सवैको सहयोगमा रथलाई तःमारी ल्याउने हुन्छ र त्यहाँं पुगेपछि विगारेर रथका काठहरुलाई अर्काे वर्षका लागि व्यवस्थापन गर्ने काम हुन्छ ।
अन्तमा अरु केही भन्नु छ कि ?
जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न हुन दिनका लागि भैलद्यलाई विगार्न नदिनु पनि महत्वपूर्ण रहेछ । त्यसकारण अवका वर्षहरुमा नयाँं काठको प्रयोग गरेर बनाउन पाए हुन्थ्यो । साथै जवरजस्त नतानिदिए हुन्थ्यो । साथसाथै दिनभर रातभर नभई निश्चित समयसम्म मात्रै तान्ने काम समापन गर्न पाए अझ हुनु थियो ।
अन्तमा जात्रा सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा सारा भक्तपुरबासीहरुलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौं ।
(गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख खिमा ओलीसँग विस्का जात्राको विषयलाई लिएर एवीसीडी खवरका लागि गरेको कुराकानीको सारसंक्षप)