महर्जनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन
साउन ४, २०८३, सोमबार | विहान ०६:५१ बजे | 190
काठमाडौं÷नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन शनिवार बालाजु औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले नेवाः पत्रकारहरुको हक, हीत र अधिकारको रक्षाका साथै नेवार मुद्दालाई सञ्चार क्षेत्रबाट जनमानसमा पु¥याउनका लागि नै दबूको गठन भएको बताउनु हुँदै दबूको काठमाडौं जिल्ला शाखामा नयाँ आउने कार्य समितिले नेवार पत्रकारहरुलाई संगठित गरी दबूलाई सशक्त बनाउनु पर्ने बताए ।
उद्घाटन सत्रमा दबूका केन्द्रीय सल्लाहकार विजयरत्न असंबरे, निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, महासचिव केके मानन्धर, कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, काठमाडौं जिल्ला शाखाका प्रथम अध्यक्ष नातिकाजी महर्जन अतिथिको रुपमा उपस्थित हुनुभयो । उहाँहरुले अधिवेशन सफलताको शुभकामना दिए ।
जिल्ला अधिवेशन समन्वय समितिका संयोजक राजु नापितको सभापतित्वमा सुरु भएको अधिवेशनमा समितिका सहसंयोजक सुनिता महर्जनले स्वागत गरेको थियो भने अर्का सहसंयोजक प्रजित शाक्यले कार्यक्रम संचालन गरेका थिए ।
अधिवेशनबाट रत्न काजी महर्जनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । महर्जन मेरो साप्ताहिकका सम्पादक एवम् प्रकाशक हुन् । नवनिर्वाचित समितिको उपाध्यक्षमा वीरेन्द्र शाक्य र बिमला मानन्धर, सचिवमा राजेन्द्र मानन्धर “नीलः”, सहसचिवमा सुविन्द्र श्रेष्ठ र तुलसी केशरी प्रजापति, कोषाध्यक्ष प्रशान्त डंगोल चयन भए । यसैगरी कार्यसमिति सदस्यमा किचः सिंह, कृष्णमान श्रेष्ठ, रश्मी नापित, सलिना शाक्य, रविन्द्र बज्राचार्य, नहकूल महर्जन, अस्मिता श्रेष्ठ र सागर राज लवत चयन भए । टोखा र कीर्तिपुर नगर समिति समेत गठन गरिएको अधिवेशनमा टोखा नगर संयोजकमा सानुराज डंगोल चयन भए भने सचिव नविना श्रेष्ठ र सदस्य हिक्मत डंगोल चयन भए । यसैगरी कीर्तिपुर नगर समिति संयोजकमा प्रताप महर्जन र सचिवमा ललेन्द्र शाक्य चयन भएका छन् । नगर समिति ५ सदस्यीय रहने व्यवस्था रहे अनुरुप यसलाई चाँडै नै पूर्णता दिइने जनाएको छ । दबूको केन्द्रीय निवर्तमान अध्यक्ष बज्राचार्यको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन र महासचिव केके मानन्धर सदस्य रहेको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट बागमती प्रदेश पार्षद र केन्द्रीय पार्षद समेत निर्वाचन सम्पन्न गरेको छ ।
