दुईदिने सांस्कृतिक उत्सव ‘श्रावण मेला २०८३’ आयोजना हुने
साउन ५, २०८३, मङ्गलबार | राति ०७:३८ बजे | 140
काठमाडौं, साउन। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यही साउन ९ र १० गते (जुलाई २५–२६, २०२६) दुईदिने सांस्कृतिक उत्सव ‘श्रावण मेला २०८३’ आयोजना हुने भएको छ। क्लासिक्स प्रोजेक्ट्सद्वारा आयोजित मेलाले श्रावण महिनाको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्त्वलाई उत्सवका रूपमा मनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ। मेलामा मेहेन्दी कला, परम्परागत नेपाली पोशाक, विभिन्न परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा नारीत्वको उत्सवसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिनेछ। आयोजकका अनुसार मेला सबै उमेर समूहका परिवार, जोडी तथा अन्य आगन्तुकका लागि खुला रहनेछ। २०८१ सालमा आयोजित संस्करणमा तीन हजारभन्दा बढी दर्शक सहभागी भएका थिए भने यस वर्ष १० हजारभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ। श्रावण महिनाको सांस्कृतिक वातावरणलाई प्रवर्द्धन गर्दै नेपाली कला, संस्कृति, परम्परा र स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजकले कार्यक्रममा सञ्चारमाध्यमलाई पूर्व–कार्यक्रम प्रचारप्रसार तथा कार्यक्रम अवधिभर स्थलमै पुगेर समाचार सङ्कलन र कभरेज गर्न अनुरोध गरेको छ। आवश्यक जानकारी तथा अन्तर्वार्ताको व्यवस्था पनि गरिने जनाइएको छ।
