आधारभूत विद्यालय समितिको अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न
फाल्गुन १७, २०८०, बिहीबार | दिउँसो ०३:२७ बजे | 25
भक्तपुर, फागुन १७ । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजना तथा गणेश माविको संयोजनमा बिहीबार प्रावि तथा निमावि स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भयो ।
सो प्रतियोगितामा सभापति तथा आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष एवम् भीम आदर्श आधारभूत विद्यालयका प्रअ दीपक माकले विद्यार्थीको वैयक्तिक, शारीरिक तथा शैक्षिक लगायत सर्वाङ्गीण विकासको लागि अतिरिक्त क्रियाकलाप गरिरहेको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, खेलकुद तथा सम्पदा संरक्षणमा आधारभूत विद्यालयहरुको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा आधारभूत विद्यालय समिति भक्तपुरका सचिव तथा हंशबाहिनी आधारभूत विद्यालयका प्रअ सूर्यबहादुर फोजूले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता उजागर गर्न तथा विद्यालयहरू बीच सहकार्य गरेर ज्ञान सीप आदानप्रदान गर्ने बताउँदै अनवरत रूपमा सेवा गर्ने निवृत्त शिक्षकहरू र आधारभूत समितिको विभिन्न प्रतियोगितामा उत्कृष्ट क्षमता प्रस्तुत गर्ने विद्यार्थीहरूलाई यहीँ चैत २ गते समितिको वार्षिकोत्सब कार्यक्रममा सम्मान गर्ने बताउनुभयो ।
सोही प्रतियोगितामा संयोजक विद्यालयका प्रअ गणेशराम थुसाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिको लागि विभिन्न शैक्षिक लगायत अतिरिक्त क्रियाकलापले सहयोग गर्ने बताउनुभयो ।
प्रावि स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगितामा नवीन आधारभूत विद्यालय प्रथम, समाज सुधार मावि द्वितीय, तारा मावि तृतीय तथा बालसेवक आधारभूत विद्यालय सान्त्वना भएका थिए ।
निमावि स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगितामा बालसेवक आधारभूत विद्यालय प्रथम, समाज सुधार मावि द्वितीय, नवीन आधारभूत विद्यालय तृतीय तथा ज्ञान विजय आधारभूत विद्यालय सान्त्वना भएका थिए ।
सो अङ्ग्रेजी हिज्जे प्रतियोगितामा १४ वटा प्रावि स्तरीय
विद्यालय तथा ७ वटा निमावि स्तरीय विद्यालयको सहभागिता रह्यो ।
फाेटाेमा हेर्नुहाेस्...