दुई मेयर हिँड्ने सडकको अवस्था, कतै खाल्डो, कतै जीर्ण, स्थानीयलाई सास्ती


कार्तिक ५, २०७७, बुधबार | विहान ०६:४० बजे | 20


भक्तपुर । अरनिको राजमार्ग खण्डको एकमात्र वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको ताथली नाला सडक पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।
तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१५ सालमा शिलान्यास गरे पनि ५१ वर्षसम्म जीर्ण सडकको ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना क्षेत्र विकास योजना भक्तपुरले एसियाली विकास बैंक, ओएफआइडी, ओपेक र नेपाल सरकारको संयुक्त लगानीमा पुनःनिर्माण गरेको थियो ।
करिब ५ किमि ८००मिटरको उक्त सडक सन् २०१२ मा रु. ६ करोड ३७ लाख ९४ हजार चार सय ९१ मा दातृ निकायको सहयोगबाट निर्माण सकिएको थियो । स्तरोन्नति पूर्व करिब ११ फिट चौडाइ रहेको कच्ची सडकको स्तरोन्नतिपछि साढे पाँच मिटर चौडाइ कालोपत्र भएको थियो । नालीसहित सडकको चौडाइ २२ फिट रहेको थियो ।
निर्माण सकिएको तीन महिना नबित्दै कालोपत्रे उप्किएर विवादमा आएको सो सडक अहिले फेरि अढाइ दशक अघिकै नियति भोगिरहेको छ । च्याम्हासिँहबाट ताथली हुँदै नाला पुग्ने सडकका अधिकांश खण्ड जीर्ण हुँदै गएको छ ।
सडक खण्डअन्तर्गत ठाउँठाउँमा परेका खाल्डा पुर्न डिभिजन सडक कार्यालय भक्तपुरले वर्षेनी टालटुलमात्र गर्दै आएको छ । खाल्डैखाल्डाले भरिएपछि दैनिक यात्रा गर्न समेत जोखिम बढेको छ ।
अहिले त झन् सडक सुधारको नाममा निर्माण कम्पनी ब्राइट तेज स्लेट जेभीले भएको पीच डोजरले कोतर्दा सडक धूलाम्य भएको छ ।
सडक बनाउन भन्दै ठेकेदारले बिगार्दा केही पनि नदेखिने गरी धूलो उड्छ, घरबाट सफा लुगामा गएका व्यक्ति च्याम्हासिंह पुग्दा धूलाम्य भइसक्छ ।’ स्थानीयले भने ।
सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले सडकको ठाउँठाउँमा रिटेनिङ पर्खाल लगाएको छ, सडक खण्डका विभिन्न भागहरुको पीच उप्काएर थुपारेको छ, सडकमै ठेकेदारले गिटी, बालुवा, चिप्स थुपारेको छ ।
‘सडक बनाउन भन्दै यसरी मनलादी तरिकाले काम गर्दा बसी नसक्ननु गरी धूलो उड्छ, सासै फेर्न गाह्रो ।’ ल्होपाँका कान्छा प्रजापतिले भने ।
उनले सोही सडक भएर चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा दैनिक ओहोर दोहोर गर्ने भए पनि सडकको स्तरोन्नति र मर्मतका लागि खासै ध्यान नदिँदा जनताले सास्ती खेप्नुपरेको जनाए ।
‘यही बाटो भएर दैनिक दुई जना मेयर हिँड््नुहुन्छ, उहाँहरुलाई यहाँको दुःख थाहा नभएको हैन, यसो काम के भइरहेको छ भनी सोधीखोजी गरे,ठेकेदारले काम छिट्टै गथ्र्यो ।’ स्थानीय बल मानन्धरले भने ।
चाँगुनारायण नगरपालिकाका मेयर मिश्रले सडकबारेमा व्यापक गुनासो आउने गरेको स्वीकारे । उनले ठाउँठाउँमा सडक बिग्रिँदा आवतजावतमा समस्या भएको विषयमा आफूलाई थाहा भएको र जनताको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
 सडक डिभिजन कार्यालय भन्छ ः
कार्यालयका इञ्जिनियर आश्मा न्यौपाने उक्त सडकको स्तरोन्नतिको काम भइरहेको बताउँछिन् । उनले बिग्रेको भाग कोटर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस(पीच) गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने जानकारी दिइन् ।
ठेकेदारमार्फत् काम भइरहेको उक्त सडकको स्तरोन्नतिका लागि रु. ५ करोड गत वर्ष नै विनियोजन भएको उनको भनाइ छ । उनले गत वर्षको चैतबाट सरकारले लागू गरेको लकडाउनको कारण काममा ढिलाइ भइरहेको बताइन् । ‘ठेकेदारले गत असारमै सबै काम सकाउनु पर्ने थियो, तर परिस्थिति सहज नहुँदा तोकिएको समयमा काम हुन सकेन, तर अहिले काम अघि बढेको छ ।’ उनी भन्छिन् ।
उनले सडक विस्तारअन्तर्गत नाली बनाइएको, फराकिलो बनाइएको बताउँदै ठेकेदारले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र काम सकाउनुपर्ने बताइन् ।
यता सब इञ्जिनियर राकेश श्रेष्ठले आगामी पुससम्मका बजेट अनुसारको काम सम्पन्न हुने बताए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments