सोनाम ल्होछार (नयाँ वर्ष) तीन दिनसम्म मनाउने
माघ २५, २०८०, बिहीबार | दिउँसो ०२:५६ बजे | 35
संगम लामा
काठमाडौं । तामाङ समुदायले काठमाडौंमा सोनाम ल्होछार (नयाँ वर्ष) तीन दिनसम्म मनाउने भएका छन् ।
राष्ट्रिय सोनाम ल्होछार २८६० डुक (मुपुख्री) ल्होछार मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी तामाङ सांस्कृतिक महोत्सवको रुपमा ल्होछार पर्व मनाउने जानकारी दिएको हो । सोनाम ल्होछार पर्वलाई नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउँदै आएको छ ।
यस वर्ष मुख्य दिन (माघ २७ गते) दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसैगरी तीन दिनसम्म तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभूषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।
विगत ३५ वर्षदेखि भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको ल्होछार मूल समारोह समिति संयोजक कुमार सिं घिसिङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमलाई अझ व्यवस्थित पार्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, स्वास्थ्य सेवा व्यवस्थापन, सांस्कृतिक र्याली व्यवस्थापन, खेलकुद तथा युवा परिचालन, सांस्कृतिक कार्यक्रम, वर्ष व्यक्तित्व सम्मान, ल्होछार इभ व्यवस्थापन, अतिथि सत्कार र तामाङ भाषा साहित्य प्रवर्द्धन उपसमितिलगायत विभिन्न समितिहरु गठन भएका छन् । यस वर्ष 'मञ्जुश्री सम्वत् २८६० सिङ/फो मुपुख्री सोनाम ल्होछार भव्य रुपमा सफल मनाऔ ! पहिचान सहितको ताम्सालिङ प्रदेश स्थापनाको लागि अघि बढौं !!' नारा तय गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...