ओस्ला नेपालको अध्यक्षमा पुनः राजेश श्रेष्ठ
माघ २०, २०८०, शनिबार | विहान ०६:१३ बजे | 65
मध्यपुर थिमि । मध्यपुर थिमिको अग्रणी सामाजिक संस्था ओस्ला नेपालको अध्यक्षमा पुनः राजेश श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । चौथो वार्षिक साधरारण सभा एवं दोस्रो अधिवेशनबाट आगामी दुईवर्षका लागि उपाध्यक्षमा सुशील जोशी, सचिवमा रोशन बज्राचार्य र कोषाध्यक्षमा दिकेश बज्राचार्य सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन संयोजक चन्द्रकृष्ण श्रेष्ठ(गोपाल) ले जानकारी दिनुभयो । त्यसैगरि ओस्ला नेपालको कार्यसमिति सहसचिवमा तुल्सीराम श्रेष्ठ र सदस्यहरुमा शम्भुजय श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, ईश्वर लाल श्रेष्ठ र नन्दु श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन संयोजक श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष राजेश श्रेष्ठले पदस्थापन कार्यक्रममा ओस्ला नेपालले सामाजिक कार्यका साथै सांस्कृतिक उत्थान, सम्पदा संरक्षण, सरसफाईदेखि संस्कृतिकर्मीहरुलाई सम्मान गर्ने कार्य पनि गर्दै आएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले २५ वर्ष अघि स्थापना भएर सामाजिक कार्य गर्दै आएको ओस्ला नेपालले पर्यावरण संरक्षणदेखि पर्यटकीय गतिविधि गर्ने जानकारी दिदैं संस्था स्थापनाको उद्देश्य, हालसम्मको गतिविधि एवं लक्ष्य सहितको स्मारिका प्रकाशन गर्ने गृहकार्य सुरु भएको बताउनु भयो । कार्यक्रममा मध्यपुर सञ्चार समाजका उपाध्यक्ष सागर गुरागार्इं, निर्वाचन समितिका सदस्य न्हुच्छेराज बज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले सुन्दर श्रेष्ठ र रत्नसुन्दर श्रेष्ठलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको जानकारी पनि दिनुभयो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुले आआफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । सिद्धार्थ भवन शंखधरचोकमा भएको उक्त कार्यक्रममा ओस्ला नेपालमा हालसम्म तीनदर्जन बढि सदस्यहरु रहनु भएको जानकारी दिइएको थियो । स्मरणीय छ ओस्ला नेपालको अगुवाईमा विगतमा दशैंतिहार उपहार चिठ्ठा कार्यक्रम र वि.सं.२०७३ मा मध्यपुर थिमिका परम्परागत बाद्य एवं नृत्यगुरु श्रीगोपाल प्रजापतिलाई नगरपरिक्रमा सहित नागरिक अभिनन्दन गरिएको थियो । ओस्ला नेपालले मध्यपुर थिमि, भक्तपुर जिल्ला एवं काठमाडौं उपत्यका व्यापी धिमे बाजा प्रतियोगिता लगायतका संस्कृति संरक्षण एवं उत्थानका कार्यहरु गर्दै आएको नवनिर्वाचित सचिव रोशन बज्राचार्यले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...