काठमाडौँ महानगरपालिकाबाट १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान
असोज ३०, २०७७, शुक्रबार | दिउँसो ०३:३१ बजे | 30
काठमाडौँ । काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधा१० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उदेश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यहि उदेश्य अनुरुप आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो ।
सम्झौता अनुसार अनुसन्धानकर्ताले बढीमा ६ महिनाभित्र अनुसन्धानकार्य सम्पन्न गर्नुपर्ने छ । अनुसन्धानको क्रममा वौद्धिक चोरी गर्न निषेध गरिएको छ भने चोरी भएको पाइएमा प्रथम पक्षले फेलोसिप तुरुन्त खारेज गरी निर्धारित रकम जफत गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । अनुसन्धानका लागि महानगरपालिकाले प्रत्येक विधामा १ लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
पहिलो चरणमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव ः काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि निलो पूर्वाधार म्यापिङ, सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धि अध्ययन पनि छनोट भएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकाको शहरी विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा संचारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ । ती दश विधामा अनुसन्धानका लागि क्रमश प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिन राज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रबिन्द्र के सुवाल, गोपी कृष्ण ढुगानासँग सम्झौता भएको छ