चपाचोमा संग्राहलय स्थापना गरिने


माघ १५, २०८०, सोमबार | दिउँसो १२:२५ बजे | 65


चपाचोमा संग्राहलय स्थापना गरिने

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका स्थित चपाचोमा परम्परागत पेशा संरक्षण तथा पर्यटकीय गन्तव्य निर्माणका लागि संग्राहलय स्थापना गर्न स्थानीय बासिन्दाहरु जुटेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ मा पर्ने उक्त स्थानमा सदियौंदेखि परम्परागत माटाका भाडाँ बनाउने प्रजापति समुदायको बसोबास रहेको छ । मध्यपुर थिमिको वडा नं. ६ मा परम्परागत माटाका भाँडा र सेरामिक्सको कार्य हुँदै आएको छ । स्थानीय समाजसेवी, शिक्षाकर्मी एवं बुद्धिजिवीहरुको पहलमा सम्बन्धित वडाका जनप्रतिनिधि एवं मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायतसँगको छलफल पछि उक्त संग्राहलय निर्माण गर्न उपपभोक्ता समिति गठन गरिएको छ । स्थानीय समाजसेवी आशाकाजी खर्बुजा प्रजापतिको अध्यक्षतामा भएको उक्त समितिमा उपाध्यक्ष दिलकृष्ण सिज प्रजापति, सचिव रामचन्द्र प्रजापति र कोषाध्यक्षमा पुर्णकेशरी गोंग प्रजापति चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा जगतकृष्ण प्रजापति, विजेन्द्र प्रजापति, प्राणमाया प्रजापति, राधाकृष्ण प्रजापति, इन्द्र देवी महर्जन, विष्णु बहादुर प्रजापति र उर्मिला प्रजापति रहनु भएको छ । उक्त समितिले योजना संचालन सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरि मध्यपुर थिमि नगरपालिकामा जानकारी दिएको छ । अब निकट भविष्यमा उक्त स्थानमा माटाका भाँडा बनाउने सम्बन्धी संग्राहलय निर्माण हुने र आन्तरिक र बाह्य पर्यटकको लागि गन्तव्यको रुपमा विकास गरिने स्थानीय समाजसेवी एवं शिक्षाकर्मी दिलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले परम्परागत पेशा संरक्षण एवं प्रर्वर्धन का लागि मध्यपुर थिमि नगरपालिका सदैव तयार रहेको भन्दै चपाचोमा संग्राहलय निर्माण गर्न नगरपालिकाले आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो । चपाचो चोकमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले हाम्रो मौलिक पहिचान बोकेको सदियौं पुरानो माटाको भाँडा बनाउने पेशाको संरक्षण, विकास र विस्ताका लागि वडा कार्यालय सदैव प्रयासरत रहेको बताउनु भयो । करिब ४ करोड लागत अनुमान गरिएको उक्त संग्राहलय साढे ३ तलाको हुने र मध्यपुर थिमि नगरपालिका बाट ३० लाख रुपैंया विनियोजन भइसकेको समितिका उपाध्यक्ष एवं स्थानीय समाजसेवी दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Comments