बनेपा । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका आयोजनामा बुधबार नेमकिपाकाे ५० आैं स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय तथा वैकल्पिक सदस्य नारायणबहादुर दुवालले कम्युनिस्ट पार्टीको नाम राखेर पुँजीपति वर्गको सेवाले बहुमत जनताको हित पुर्याउन नसक्ने देखिएर गलत विचारको खण्डन गर्दै समाजवादी व्यवस्था ल्याउनको लागि नेमकिपाको स्थापना र उद्देश्य बारे बताउनुभयो ।
उहाँले वैदेशिक स्वार्थमा आधारित संशोधनवाद बहुसंख्यक जनताको हित नगर्ने बताउँदै जनताको सेवा सुविधाको लागि सत्ता कब्जा गर्न जस्तोसुकै चुनावमा पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।
हिमालयश्वर मूलले कम्युनिस्ट पार्टीको घोषणापत्र बुझ्नको लागि मानव समाजको विकासक्रमलाई बुझ्नुपर्नेे बताउँदै अमेरिकी साम्राज्यवादी सोचले विश्वमा छाएको सन्त्रास चाँडै विलाउने बताउनुभयो ।
उहाँले जेरुसलम, इजिप्ट, मिश्र सभ्यताको विकासक्रममा सम्पूर्ण मानव समाजकै देन रहेको बताउँदै किसान मजदुरको दासत्व मुक्तिको संघर्षले मानिसहरूको स्वतन्त्रबाट आजको आैद्योगिक समाज विकास भएको बताउनुभयो ।
नेक्रावि संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले प्यालेस्टाइन र इजरायल बीचको राजनीतिक संघर्ष र त्यहाँ स्थापना भएको कम्युनिस्ट पार्टी स्थापना तथा हमासको उदय र संघर्ष बारे प्रस्तुति दिनुभयो ।
हरिप्रसाद मानन्धरले देशको अस्तित्व मेटिने वैदेशिक सहयोग र सिमाना मिच्दा समेत ठूला कम्युनिस्ट पार्टीमा खोटा विचार रहेको बताउँदै देशमा एकमात्र सच्चा कम्युनिस्ट पार्टी नेमकिपा मात्रै रहेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघ काभ्रे समितिका रणबहादुर राणाले इण्डोनेसियामा कम्युनिस्ट पार्टीको स्थापनाका संघर्षको बारेमा बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा सम्पन्न भएको उक्त प्रवचन कार्यक्रममा पूण्यशोभा श्रेष्ठले समेत बोल्नुभयो ।