कोरोना रोकथामको लागि भक्तपुर साकोसको रु. १० लाख सहयोग
असोज ३०, २०७७, शुक्रबार | विहान १०:३३ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले सोमबार रु. १० लाखको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणमा भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप भक्तपुर साकोस भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि भक्तपुरका विभिन्न संघ संस्थाले नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताउनुहुँदै कोषमा जम्मा भएको रकम नगरबासी जनताकै हितमा कोरोना रोकथामको लागि खर्च गरिने बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्नुहुँदै भक्तपुर नपाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरुप सो रकम हस्तान्तरण गरेको बताउनुभयो । भक्तपुर नपाले गरिरहेको कामहरु पारदर्शी र जनता केन्द्रित हुने गरेको बताउनुहुँदै अध्यक्ष प्रजापतिले कोभिड १९ नियन्त्रणमा नगरपालिकाले उल्लेख्य कामहरु गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु अध्यक्ष प्रजापतिलाई प्रदान गर्नुभयो ।