बिपद् व्यवस्थापनमा उदाहरणीय काम गर्दै चाँगुनारायण
माघ ६, २०८०, शनिबार | दिउँसो १२:४९ बजे | 65
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकाकै अब्वल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा बिपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तलिम दिएर तयार गरेको छ ।
बिपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको नगरपालिकाले जुनसुकै बेला आइपर्ने बिपद्का समयमा आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले तीन करोड रुपैया रासीको बिपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
नगर प्रमुख खत्रीका अनुसार, विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उदेश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ ।
त्यस क्रममा बिभिन्न संघ संस्था, बिद्यालय तथा सहकारीका सदस्यहरुलाई समेत बिपद् न्युनिकरण तालिम दिन थालिएको नगर प्रमुख खत्रीले बताए । बिपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको छ । त्यसै क्रममा चाँगुनारायण नगरपालिकाले २६ औं भुकम्प सुरक्षा दिवसका अवसर पारेर बिपद् जोखिम न्युनिकरणमा सञ्चारकर्मीको भूमिक बिषयक कार्यशालाको आयोजना गरेको छ ।
सुडालमा शुक्रवार आयोजित कार्यशालाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बिपद् न्युनिकरणमा सचेतना अभिबृद्धी गरेर मिडियाले सबैलाई सजग गरिरहेको बताउनुभयो । बिपद्का समयमा उद्धार तथा राहतका लागि कामगर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी दिनुभयो ।
वडाअध्यक्ष सोम प्रधानले चाँगुनारायणका ५, ६, ७ र ८ नं. वडामा बढी बिपद्को जोखिम रहेको बताउँदै यस कार्यक्रममा प्राप्त हुने सुझावका आधारमा बिपद्का क्षेत्रमा आगामी वर्षको कार्यक्रम तयार गरिने बताउनुभयो । पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष शुन्दर सिल्पकारले सञ्चारकर्मीको सकारात्मक झक्झक्याईका कारण बिपद् जोखिम न्युनिकरणमा सहयोग पुगेको बताउनुभयो ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार पुष्करराज बुढाथोकीले बिपद्का समयमा पत्रकारले संयमित भई विपद् जोखिमको रिपोर्टिङमा चस्मा बदलेर मानवीय विपत्तिलाई गहनपूर्वक हेर्ने नयाँ दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका बिपद् ब्यबस्थापन बिज्ञ दिनेश थापाले नगरपालिकाले बिपद् व्यवस्थापनका क्षेत्रमा गरेका कार्यका बारेमा प्रस्तुतिकरण गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले सप्तकोसीको बाँध फुट्दादेखि २०७२ सालको भुकम्प तथा गत कातिकमा जांजरकोटमा गएको भुकम्पका समयमा गरिएका स्थलगत रिर्पोटिङका बारेमा जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत बिपद्का क्षेत्रमा काम गर्नका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले झक्झक्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यशालामा संचारकर्मी रमेश गिरी, उज्वल झा, सुरेश सैजु, शंकर अर्याल, रेणु तोयनावासु लगायतले आ–आफ्नो अनुभव र सुझाब राख्नुभयो ।