अवलोकन भ्रमणपछि अनुभव आदानप्रदान
माघ १, २०८०, सोमबार | दिउँसो ०१:१९ बजे | 45
माधव घिमिरे 'अटल'
गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ)को संयोजनमा नयाँ पर्यटन गन्तव्य खोजीनिती गर्न हालै अध्ययन अवलोकन भ्रमण सुसम्पन्न गरेको छ । धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण बाग्लुङ जिल्लाको ढोरपाटन यस पटकको गन्तव्यमा छनोट भएको थियो । सो भ्रमण सफलतापूर्वक सम्पन्न गरेपश्चात् राजधानीको होटल मनाङमा आयोजित अनुभव आदानप्रदान कार्यक्रममा ढेड दर्जन बेसी पर्यटन आबद्ध व्यक्तित्वहरूले आआफ्ना अनुभूति, सम्भावना र चुनौतीका बारे मन्थन गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै भिटोफका अध्यक्ष गोपाल थापाले स्थानीय जनता, स्थानीय सरकार र पर्यटनसँग सरोकार राख्ने निकायसँग हातेमालो गरेर नयाँ गन्तव्य पहिचान गरी ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्न आफू कटिबद्ध भई अगाडि बढ्न तयार रहेको अवगत गराए ।
भिटोफका प्रमुख सल्लाहकार प्रा. डा. प्रेम शर्माले ग्रामीण पर्यटन विकास गर्न भिटोफले अझै मेहनत गर्नुपर्ने बताए । भिटोफ कतै अलमलिएजस्तो कतै हराएजस्तो भएकोमा यसको थप सक्रियता अपेक्षित भएको शर्माको कथन थियो ।
त्यसरी नै टानका महासचिव विनोद सापकोटाले सडक सञ्जालका कारण ट्रेकिङ रूटहरू विनाश भएकोमा चिन्ता व्यक्त गर्दै भिटोफ नेपालले नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने जमर्को गरेकोमा सन्तोष व्यक्त गरे ।
अनुभव आदानप्रदान कार्यक्रममा भिटोफका अध्यक्ष गोपाल थापा, भिटोफकै पूर्व अध्यक्ष बोधराज भण्डारी, प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्मा, नियात्राकार राजेन्द्रमान डङ्गोल, भिटोफका महासचिव निशेष थापा, टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, भिटोफका सद्भावनादूत भरतबन्धु थापा, ठमेल पर्यटन विकास समितिका अध्यक्ष भविश्वर शर्मालगायत उपस्थित थिए।
फाेटाेमा हेर्नुहाेस्...