सहकारी संस्थाले आदर निकेतन खोल्ने र सञ्चालन गर्नेतर्फ पनि ध्यान दिनुपर्ने
पुष २१, २०८०, शनिबार | दिउँसो ०३:०७ बजे | 55
भक्तपुर, २१ पुस । सहलह बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन २०८० शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रराज गोसाईंले सहकारीले समुदायमा पछाडि परेका वर्गको हित र सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुहुँदै आर्थिक पारदर्शिता कायम राख्न सहकारी संस्थाले लेखा प्रणाली तालिम, सहकारी ऐन, नियमको अन्तरक्रिया कार्यक्रमजस्ता गतिविधि सञ्चालन गरिराख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रमुख अतिथि गोसाईंले देशमा खराब शासक, राजनीतिक दल र मन्त्रीहरूको अदूरदर्शिता अनि खराब गतिविधिले गर्दा दिनप्रतिदिन युवाहरू विदेशिन वाध्य भएको र देशका जेष्ठ नागरिकलाई तातो पानी पनि खुवाउने परिवारका सदस्यको अभाव हुँदै आएको स्पष्ट पार्नुभयो ।
उहाँले सहकारीका सदस्यहरूले सहकारीको विषयमा मात्र नभई देश र विदेशका राजनीतिक विषयमा जानकारी राख्नुपर्नेमा जोड दिँदै सहकारी संस्थाले आदर निकेतन खोल्ने र सञ्चालन गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं। ७ का वडाध्यक्ष उकेश कवांले सहकारीहरूको गतिविधि समाजवादी अभियानको लागि सहयोग सिद्ध हुनुपर्ने, सहकारी सदस्यहरूले सहकारीका गतिविधिबारे चासो राख्नुपर्ने र सहकारी धनी वर्गको लागि नभई गरिब वर्गको लागि हुनुपर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि बालकृष्ण ध्वोंजुले सहकारीको साधारण सभामा उपस्थित भएर लाभांश तथा उपस्थिति भत्ता लिएर फर्किने सदस्यहरूको कारणले धेरै सहकारीहरूलाई ठग्ने वातावरण बनेको स्पष्ट पार्दै समुदायमा आधारित सहकारी संस्थामै बचत गरे बचत सुरक्षित रहने बताउनुभयो ।
संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रमा संस्थाका कानुनी सल्लाहकार पुरूषोत्तम ग्वाछा, सल्लाहकार शिवनारायण ग्वाछा, उपाध्यक्ष एण्डिज ग्वाछा, सचिव रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा संस्थाका सचिव रामेश्वर मचामसीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद ग्वाछाको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण संयोजक केशरीमैंया ग्वाछाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो । कार्यक्रमको बन्द सत्रबाट श्याम तजलेको अध्यक्षतामा नयाँ सञ्चालक समिति र केशरीमैंया ग्वाछाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरिएको थियो ।