भक्तपुरको नवरातमा बाजागाजा नलान अनुरोध


असोज २७, २०७७, मङ्गलबार | दिउँसो ०३:०९ बजे | 55


भक्तपुर । भक्तपुर नगरपालिका १० नं वडा समितिको आयोजना बाजागाजा टोलीहरुको भेला कमलबिनायक बक्सिङ प्रशिक्षण हलमा मंगलवार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरमा पन्ध्र दिनको एउटा एउटा जात्रा हुने भक्तपुर नगरमा कोभिड १९ को महामारीले विस्केट जात्रा, आमाको मुख हेर्ने, गाईजात्रालाई औपचारिकतामा मात्र सिमित गरेकोमा अहिले नजिकिन्दै गरेको दशैंमा नवरात, वलि प्रथा र खम्ये जात्रा, तलेजु पाँय्न्ह्याकेगु जात्रा समेत अहिले औपचारिकता सिमित गरी आस्था अनुसार घर घरमा मात्र सिमित गर्न अनुरोध गर्दै नवरातमा बाजागाजा नलान साथै बाहिरको अष्टमी दशमीमा मन्दिर र सवारी साधनमा वली दिने कार्य समेत रोक्न अनुरोध गरे । उहाँले बुवाको मुख हेर्ने अवस्थादेखि लकडाउन खुकुलो भएपछि संक्रमित दिन दुई गुणा रात चौगुणा समुदाय स्तरमा फैलिएर बढेकोले अव झन भयावह स्थिति रोक्नुपर्ने र आधा भन्दा बढी संक्रमितमा लक्षण समेत देखिएको साथै अस्पतालहरुमा बेडहरुसमेत खाली नभएकोले सर्तक हुनु पर्ने बताउनुभयो । साथै एकजना संक्रमित भएपछि आइशोलेशनमा राखेपछि सत्तरी हजार रुपैंया खर्च हुने साथै आइसियुमा सित समेत नभएकोले संक्रमितलाई समस्या भए प्लाजा थेरापि गर्न रगतको प्लाजा छुट्याउन ग्राण्डी अस्पताल बाहेक अरु स्थानमा नभएको, त्यसमा खर्च बढी हुने गरेको साथै कोभिड १९ पोजिटिभ आएकाहरुको रगत आवश्यक हुने बताउनु भयो । उहाँले अहिले संक्रमितको सम्पर्क व्यक्तिहरुका परिवारहरु पिसिआर परिक्षणमा सबै नै पोजिटिभ आउने गरेको, जाडोले रुघाखाकी र दमको व्यथालाई समस्या हुने भएकोले दशैंमा संक्रमित बढ्ने सम्भावना भएकोले दशैंलाई औपचारिकतामा सिमित गरी दशैंमा वली चढाउन पशुपन्छि करोडौं करोडको खर्च हुने यस्तो अवस्था विरामी भए त्यसको लागि पनि खर्च आवश्यक हुने भएकोले हामीले खर्चमा समेत मितव्ययिता अपनाउन समेत अनुरोध गर्नु भयो ।
कार्यक्रममा १० नं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले तेश्रो विश्व युद्ध आणविक भन्दा जीवाणु युद्ध हुने र यो कोभिड १९ अमेरिकाले गरेको जीवाणु युद्ध भएको बताउँदै अमेरिकी सेनाले चीनमा भएको खेलकुद प्रतियोगितामा सहभागी भई फैलाएको आरोप लगाउनु भयो । उहाँले चीनले कोभिड १९ मा व्यवस्थित गरी जित हासिल गरेको तर नेपालमा जनताका आधारभुत आवश्यकात सरकार पूर्ति गर्न नसक्दा सबै बाहिर आउँदा अहिले नेपालमा कोभिड १९ महामारी फैलिएको बताउनु भयो । साथै भारतको खुल्ला सिमाले उच्चदरमा फैलिएको कोभिड १९ ले नेपाल सुरक्षित नभएको बताउँदै खुल्ला सिमान नियन्त्रण गरी आवाज जावत रोक्नु पर्ने बताउनु भयो । नगरबासीहरुको सहयोगमा विस्केत जात्रा लगायतमा औपचारिकतामा सिमित राख्न सफल भएको बताउनु हुँदै दशैंमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा भुतपूर्व वडाध्यक्ष चन्द्र बहादुर उलकले पहिलो र दोश्रो विश्वयुद्ध पछि यो कोभिड १९ अमेरिका र चीन बीचको नयाँ विश्व युद्ध हो भन्दै आफै सजग भई भिडभाडबाट सर्ने भएकोले दुई मिटर दुरीमा बसी कार्य गर्नु पर्ने भएकोले जात्रामा बाजागाजा नलान अनुरोध गर्नुभयो । कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनांकर्मी र ज्ञान कुमार मगजुले पनि बोल्नु भएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।  


Comments