सिद्धान्त र विचारविनाका पार्टीले केही गर्न सक्दैन
पुष १९, २०८०, बिहीबार | दिउँसो ०२:३७ बजे | 65
भक्तपुर । सिद्धान्त र विचारविनाका पार्टीले देश र जनताका लागि केही पनि गर्न सक्दैन । यिनीहरुको सांगठानिक स्वरुप नै जनतालाई थर्काएर, त्रास दिएर बनाएकाले दिगो हुन सक्दैन । सांगठानिक सिद्धान्त र विचारले मात्र आमूल परिवर्तन सम्भव तुल्याउँछ ।
नेपाल मजदुर किसान पार्टी, ९ वडा सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा भएको १३०औं माओ र १४५औ स्टालिनको जन्म जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले उक्त कुरा बताउनुभएको हो ।
उहाँले ‘उदारवादको विरोध गर’ भन्ने रातो कितावको मूल कुरालाई लागु गर्नुपर्ने र आलोचना आत्मालोचना सधै भैरहनुपर्नेमा जोड दिनुभयो । साथै संगठन र विचार भनेकै अक्सिजन प्लान्ट भएको बताउँदै उहाँले हरेक व्यक्तिलाई विचारबाटै सुसूचित गर्नुपर्ने अन्यथा ठूला पार्टीजस्तै अपराधिहरुको झुन्ड मात्र हुने स्पष्ट पार्नुभयो । उहाँले माओको दूरदर्शी विचारकै कारण हालको चीन बनेको र जस्तोसुकै अमेरिकी जालले पनि चीनलाई हल्लाउन नसकेको बताउनुभयो । अमेरिकाले रसिया र चीनलाई आक्रमण गर्न युक्रेनलाई उपयोग गरी ‘प्रोक्सिवार’ गरिरहेको संकेत गर्दै विज्ञान, प्रविधि र आविष्कारमा चीन कहिल्यै पछि नपरेको उहाँको थम्याइ छ । उहाँले स्टालिनले सोभियत रुस र माओले चीनलाई समाजवादी व्यवस्थाको निरन्तरताका लागि गरेको संघर्षबाट हामीले सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले वडाका गतिविधिबारे जानकारी दिनुभयो । त्यस्तै वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले उदारवाद र समाजवादलाई सँगसँगै लाने विभिन्न पार्टीका कदम गलत भएको स्पष्ट पार्दै कम्युनिष्ट सिद्धान्त नमान्ने नेपालका कम्युनिष्ट पार्टीहरुले जनतालाई धोखा दिएको बताउनुभयो । उहाँले किसानको पक्षमा माओले काम गरेकै कारण लामो हिडाइँमा किसानले साथ दिएको बताउँदै जनताको निरन्तर सेवा गर्न प्रेरित गरेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुले सशस्त्र संघर्षविना समाजवादी व्यवस्था स्थापना गर्न नसक्ने औल्याउँदै संघर्षमा लाग्न विचारबाट सचेत र संगठित गर्नुको विकल्प नभएको औंल्याउनुभयो । उहाँले माओ र स्टालिनको योगदानको चर्चा गर्दै अधिकांश पूँजीवादी देशमा जनताको आधारभूत आवश्यकता नै पूरा गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष काशिलाल प्रजापति र प्रेम प्रजापतिले माओ र स्टालिनबाट सिक्नुपर्ने कुरामा जोड दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...