पाँच शिशु जन्म ः दुईको मृत्यु


असोज २७, २०७७, मङ्गलबार | विहान ०८:५८ बजे | 25


काठमाडौं । ५ वटा बच्चा जन्माउने नुवाकोटकी २८ वर्षीया सोमिका तामाङ अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा डेलिभरी भएकी तामाङ मगंलबार डिस्चार्ज भएकी हुन्।
गर्भ रहेको ३२ हप्तामा असोज १९ गते ५ शिशु जन्माएकी थिएन। एक शिशुको पेटमा मृत्यु भइसकेको थियो भने एक शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
जीवित जन्मिएकामध्ये ८ सय ग्रामको शिशुको भन्टिलेटरमा राखी उपचार गर्दैगर्दा आइतबार राती मृत्यु भएको अपरेशनमा संलग्न डा. कीर्तिपाल सुवेदीले बताए। ‘अन्य तीन शिशु र आमाको अवस्था सामान्य रहेकाले हामीले डिस्चार्ज गरेका छौ,’ डा. सुवेदीले भने ।
एक गर्भमा ५ शिशु जन्मनु दुर्लभ मानिन्छ। अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत गत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा.दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन रहेका थिए भने, एनेस्थेसियामा डा.मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा.श्रद्धा श्रेष्ठले बच्चाहरूको स्वास्थ्य अवस्था हेरिरहेकी थिइन्।
एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिन्छ।

Comments