भक्तपुर बचतको अवलोकन भ्रमण मन्थली साकोसमा
पुष १४, २०८०, शनिबार | दिउँसो ०३:१६ बजे | 60
रामेछाप । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को विभिन्न समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको प्रतिनिधिमण्डले रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.मा शनिवार अवलोकन भ्रमण गरेको छ ।
प्रतिनिधिमण्डललाई मन्थली बचतका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत गर्नुभयो । मन्थली बचतका अध्यक्ष घिमिरेले संस्थाको सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विभिन्न विषयमा स्पष्ट पार्दै भक्तपुर बचतसँग नियमित रुपमा सहकार्य गर्दै जाने बताउनुभयो ।
साथै उहाँले अहिलेको आर्थिक समस्यालाई मनन गरी ऋण असुलीको वर्षका रुपमा घोषणा गरेको स्पष्ट पार्नुभयो । मन्थली सहकारीको नेतृत्वमा तामाकोशी अस्पताल सञ्चालन गरी करिव १७ हजार सदस्यहरुलाई स्वास्थ्य बीमा तथा दुर्घटना बीमा गरी स्वास्थ्य सेवा दिइराखेको अवगत गराउनुभयो ।
करिब १ अर्ब २८ करोडको कूल वासलात भएको यस सहकारीले रामेछाप जिल्लामा सामुदायिक सहकारीको पहिचान बनाई आएकोमा बिना धितो एक पैसा पनि लगानी नगरेको उक्त संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं मन्थली साकोसका सचिव हिमाल ढुंगेलले रामेछाप जिल्लाका सहकारीको वर्तमान अवस्थाबारे जानकारी दिनुभयो ।
पुस १४ देखि १६ सम्मको अवलोकन भ्रमण कार्यक्रमको पहिलो दिन भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले मन्थली साकोसका अध्यक्ष घिमिरेलाई मायाको चिनो प्रदान गर्दै हालसम्म भक्तपुर साकोसले गरेका गतिविधिबारे जानकारी गराउनुभयो । कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार रत्नप्रसाद प्रजापति, उपाध्यक्ष लक्ष्मीप्रसाद कुसी, व्यवस्थापक सत्यनारायण साँयजूलगायतले विभिन्न विषयमा जिज्ञासा राख्नुभयो ।