कमेरोटार जग्गा आयोजना पीडितको माग ः उपभोक्ता समिति तुरुन्त खारेज गर


पुष ३, २०८०, मङ्गलबार | दिउँसो ०१:३२ बजे | 145


कमेरोटार जग्गा आयोजना पीडितको माग ः उपभोक्ता समिति तुरुन्त खारेज गर

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना पीडितहरुले आयोजनाको काम छिटोभन्दा छिटो सकाइदिन माग राखेका छन् । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई मंगलबार ज्ञापनपत्र पेश गर्दै उनीहरुले आयोजनाको काम ढिलाईले आफूहरु पीडित भएको बताए । 
आयोजनाको काम छिटो सम्पन्न गर्न वर्तमान उपभोक्ता समिति तुरुन्त खारेज गरी नगरपालिकाबाटै सञ्चालन गरी व्यवस्था गर्न मेयर श्रेष्ठसमक्ष माग राखे । वर्तमान उपभोक्ता समितिको अध्यक्ष नगरपालिकाका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठ हुन् । 
पीडितहरुले ६ पृष्ठ लामो मागपत्र पेश गरेका थिए । मागपत्रमा पीडितहरुकोतर्फबाट गठित कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ र सचिव ज्ञानेन्द्रकुमार कार्कीको हस्ताक्षर रहेको छ । तीन वर्षमा सकाउने योजनासहित सुरु गरेको योजना २१ वर्षसम्ममा पनि सम्पन्न हुन नसकेको भन्दै उनीहरु आक्रोशित थिए । 

Comments