सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल पुस्तकलाई आधार बनाई काम गर्दै भक्तपुर


मंसिर २५, २०८०, सोमबार | विहान १०:४१ बजे | 55


सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल पुस्तकलाई आधार बनाई काम गर्दै भक्तपुर

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग धनुषा जिल्लाका २ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको प्रतिनिधिमण्डलले भक्तपुर नपाका गतिविधिहरूको स्थलगत अवलोकन तथा छलफलको सिलसिलामा आज भेट गर्नुभयो । 
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नगरको परिचय र विशेषताबारे प्रकाश पार्दै शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरूलाई नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको बताउनुभयो ।
ैउहाँले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै स्वास्थ्य क्षेत्रअन्तर्गत घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरूलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गर्दै आएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुरका शैक्षिक संस्थाहरू अवलोकन गर्न आउने र आ–आफ्ना पालिकामा पनि ख्वप कलेज जस्तै शैक्षिक संस्थाहरू खोल्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।’ 
कार्यक्रममा बोल्दै धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिताकुमारी सिंहले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नपाले शिक्षामा गरिरहेको सकारात्मक अभ्यासको अनुसरण गरिने बताउनुभयो ।
उहाँले भक्तपुरको शैक्षिक विकासबाट आफूहरू प्रभावित भएको बताउँदै विभिन्न स्थानीय तहहरूबीचको अनुभव आदानप्रदानले जनप्रतिनिधिहरूमा उत्साह मिल्ने बताउनुभयो । 
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अध्ययन भ्रमण फलदायी हुने आशा व्यक्त गर्दै भक्तपुरको भ्रमणको अनुभवलाई आफ्नो कार्य क्षेत्रमा कार्यान्वयन गरी त्यहाँको शैक्षिक स्तर उकास्न विभिन्न कार्यहरू हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिका भित्र सामुदायिक र संस्थागत गरी जम्मा ९२ वटा विद्यालयहरू रहेकोमा भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई कम गर्दै लैजाने प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले प्रतिनिधिमण्डल टोलीलाई नपाका प्रकाशन उपहार स्वरुप प्रदान गर्नुभयो । 
कार्यक्रममा जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगल, श्री जनता नमुना मावि कुम्भकरण, श्री प्रगतिशील मावि, आसमान नेपाल संस्थाका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल पुस्तकलाई आधार बनाई काम गर्दै भक्तपुर

Comments