लैंगिक हिंसाविरुद्धको अभियानसँगै वर्ग व्यवस्थाबारे जनचेतना आवश्यक


मंसिर २४, २०८०, आइतबार | दिउँसो ०१:५८ बजे | 70


लैंगिक हिंसाविरुद्धको अभियानसँगै वर्ग व्यवस्थाबारे जनचेतना आवश्यक

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिका लगानी ऐक्यबद्धता’ विषयक अभिमुखीकरण कार्यक्रम आज एक कार्यक्रमबीच भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा लैंगिक हिंसा बढ्नुको मुख्य कारण विद्यमान राजनैतिक व्यवस्था भएको बताउँदै लिंगको आधारमा गरिने विभेद र हिंसा नै लैंगिक हिंसा भएको बताउनुभयो । 
उहाँले महिलामाथि हुने घरेलु हिंसामा महिलाहरुकै संलग्नता बढी देखिएको उल्लेख गर्दै हिंसा अन्त्यको लागि सुन्दर नारा भन्दा पनि जनताको भावनाअनुसार काम हुनुपर्ने बताउनुभयो ।
उहाँले महिला हिंसामा कमी ल्याउन शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
नेपालमा २०५४ सालबाट नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन भए पनि समाजमा त्यसबाट कुनै सकारात्मक सन्देश देखा नपरेको बताउँदै उहाँले लैंगिक हिंसाविरुद्धको अभियान सँगसँगै वर्ग व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले समाजमा महिलामा मात्र हिंसा हुन्छ भन्ने सोच राख्नु गलत भएको बताउँदै समाजमा लैंगिक हिंसा अन्त्य गर्न सबैकोतर्फबाट पहल हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यांैमिखाले समाजमा अन्याय, अत्याचार न्यूनीकरण गर्दै जानुपर्ने र महिलालाई दाइजो भन्दा पनि शिक्षा जरुरी रहेको बताउनुभयो । संसारमा अपराधजन्य घटनाहरु दिनप्रतिदिन विकसित भैरहेकोले यो पनि एक प्रकारको युद्ध हिंसा रहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक सुकदेव पौडेलले भक्तपुरका ४ वटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा लैंगिक हिंसाको घटनाहरु कम रहेको र लैंगिक हिंसाको परिभाषामा महिला मात्र नभइ पुरुष पनि समावेश हुने कुरा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

लैंगिक हिंसाविरुद्धको अभियानसँगै वर्ग व्यवस्थाबारे जनचेतना आवश्यक

Comments