घोराही उपमहानगरपालिकाका उपप्रमुखसहितको टोली भक्तपुरमा
मंसिर २४, २०८०, आइतबार | दिउँसो ०१:१६ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीसहित न्यायिक समितिका पदाधिकारीहरूले आइतबार भेट गर्नुभयो ।
भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणको सिलसिलामा आउनुभएको उक्त टोलीसँग भक्तपुर नपाको गतिविधि र न्यायिक समितिको कार्यसम्पादनबारे अनुभव आदानप्रदान भयो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका पुराना संस्कृति र सम्पदाहरुको संरक्षणलाई विकास गरी भक्तपुर नपा अगाडि बढिरहेको बताउँदै पर्यटकहरूबाट उठेको पर्यटन शुल्क समेतबाट भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको प्रष्ट पार्नुभयो ।
पर्यटन र स्वास्थ्य क्षेत्रमा नेपालले समाजवादी देश क्युवाबाट सिक्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले क्युवा दशकौं लामो समयदेखि अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरेको देश भएर पनि शिक्षा, पर्यटन विकास र स्वास्थ्य उपचारमा संसारमा उत्कृष्ट प्रमाणित हुन सफल भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीकै कारण भक्तपुर शैक्षिक रुपमा अगाडि बढेको बताउँदै प्रमुख प्रजापतिले भन्नुभयो, ‘कामदार वर्गलाई माथि उठाउने उद्देश्यले हामी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु काम गर्दैछौं ।’
उपप्रमुख हुमाकुमारी डिसीले भक्तपुर नपा सुशासन क्षेत्रमा अब्बल भएको आफ्नो ठम्याइ रहेको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास मोडलबारे अध्ययन गर्ने हेतुले भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उहाँले भक्तपुरले देशकै लागि मार्गनिर्देशनको रुपमा काम गरिरहेको बताउँदै अन्य स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, विकास मोडलबारे धेरै कुरा सिक्न सकिने बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ६ नं. वडाध्यक्ष हरिराम सुवाल, ८ नं. वडाध्यक्ष कृष्णप्रसाद कोजु, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइ, घोराही उपमहानपाका उपप्रमुख सहित कानुनी मामिला शाखाका प्रमुख पुतला कुमारी देवकोटा, न्यायिक समितिका सदस्यद्वय मानबहादुर जिसी, पवित्रा विश्वकर्मा, मेलमिलापकर्ता संयोजक कमलप्रसाद भट्टराई, कर्मचारीहरू डिलराज पौडेल, सवि चौधरी, शिला चौधरीलगायतको उपस्थिति रहेको थियो । भेटमा उहाँहरूबीच उपहार आदानप्रदान भएको थियो ।