जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था


मंसिर २१, २०८०, बिहीबार | विहान ०७:४४ बजे | 60


जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ साकोथास्थित पसल व्यवसायीहरुको भेला गरी सो क्षेत्रमा पसल तथा फुटपाथ व्यवस्थापनबारे छलफल कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको फुटपाथ, सवारी पार्किङ, सुरक्षा व्यवस्था, जात्रा पर्व व्यवस्थापन लागि नगरपालिकाले योजनाबद्ध कार्यहरु गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका क्षेत्रको सरसफाई सम्बन्धी ऐन २०७६ र भक्तपुर नपाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धी ऐन २०७७ लाई कार्यान्वयन गर्दै आएको र सो ऐनहरूमा जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जनतालाई दण्ड जरिवाना भन्दा सचेतनालाई नै नगरपालिकाले जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगरलाई अझ सुन्दर, सभ्य र व्यवस्थित गर्न भक्तपुरका पसल व्यवसायीहरुसँग समन्वय गर्दै अगाडि जाने बताउनुभयो ।
भक्तपुरमा पर्यटन विकास तुलनात्मक रुपमा राम्रो हुँदै गइरहेको दिँदै उहाँले नेपाल भित्रिने अधिकांश पर्यटकहरु भक्तपुर भ्रमण गर्ने अवस्था बन्दै गएको र अब पर्यटकहरुको भक्तपुर बसाई लम्ब्याउने विषयमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बजार व्यवस्थापन सहरलाई जीवन्त राख्ने मुख्य आधार भएको बताउँदै सम्पदा क्षेत्र स्वच्छ र सुन्दर बनाउन सके भक्तपुरमा पर्यटकहरुको आगमनमा पनि वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा भनपा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवालले पसलको फोहोर जथाभावी फाल्ने, फुटपाथमा पसल राख्ने कामले नगरको सुन्दरतामा असर पुगेको बताउँदै नगरलाई दिगो रुपमा सफा राख्न नपाले तोकेको समयमा मात्र फोहोर फाल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थित पसल व्यवसायीहरुले नगरको सुन्दरतामा आँच आउने गरी व्यवसाय सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नपाले ठाउँ ठाउँमा पर्यटकलाई आवश्यक शौचालयको व्यवस्था, पार्किङ व्यवस्थापन, रात्रीकालीन बत्ती मर्मत र व्यवस्थापन गर्नुपर्ने आदि विषयमा सुझाव दिनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था
जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था
जथाभावी फोहर गर्नेहरूका लागि दण्ड जरिवानाको व्यवस्था

Comments