बडादशैंको साँस्कृतिक एवं धार्मिक पक्ष
असोज २८, २०८०, आइतबार | विहान ०३:५६ बजे | 40
सागर गुरागाईं
प्रत्येक वर्ष आश्विन शुक्लपक्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म हर्षोल्लाशपूर्वक मनाइने वडा दशैंको चहलपहल शुरु भैसकेको छ । दशैंका लागि गरिने किनमेलदेखि घरको सरसफाई र सजावट पनि भइरहेको छ । विजया दशमी अनि वडा दशैंको नामबाट पनि पुकारिने दशैं पर्वको धार्मिक एवं साँस्कृतिक महत्व छ । वर्षाऋतु सकिएपछि शरदऋतुमा मनाइने चाड दशैंमा शक्तिकी देवी दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेपछि सुरु हुन्छ नवरात्र । नवरात्री भरि हिन्दुहरुका घरमा नित्य दुर्गा सप्तसती पाठ र नवदुर्गाको पूजा गरिन्छ । नवरात्रमा नवदुर्गाका रुपमा पुजिने देवीहरुमा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमामता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । घटस्थापनाको दिन स्नान गरे शुद्ध पवित्र भई नदी वा जलाशयबाट निकालेको चोखो बालुवाको विधिवत् रुपमा वेदी तराय गरी कलश स्थापन गरिन्छ । कलश वरिपरिको बालुवा मिसिएको माटोमा जौ मकै लगायतका अन्न छरेर सफा कपडाले छोपिन्छ । सो दिन हिमालय पर्वतकी छोरी शैलपुत्रीको विशेष आराधना गर्ने चलन छ । धर्मशास्त्रहरुमा त्रिशुललाई शैलपुत्रीको अस्त्र र गाईलाई उनको बाहन भनेर पनि उल्लेख गरिएको पाइन्छ ।
घटस्थापनाको दिनदेखि सुरु हुने नवरात्रि विजया दशमीको दिन चामलको अक्षताको टिका र जमरा लगाएपछि सम्पन्न हुन्छ । तर रातो टिका र जमरा लगाउने, आफ्ना मान्यजनबाट आर्शिवाद लिने, शुभकामना आदानप्रदान गर्ने कामभने धेरै जसो हिन्दुहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म गर्छन् । दशैंको तीनदिन अष्टमी, नवमी र दशमीका दिन विशेष चहलपहल हुन्छ । शक्तिकी देवी दुर्गाको आराधना एवं पाठपूजा गरी दशमीको दिनमा दुर्गापूजा सम्पन्न गरेर दुर्गाको प्रसादको रुपमा चामलको रातो टिका (जसलाई साहस र विजयको प्रतिक पनि मानिन्छ) अनि दीर्घायुको प्रतिक पहेंलो जमरा लगाएर आफूभन्दा ठूलाबाट आर्शिवाद लिने पनि चलन छ । नयाँ लुगा, मीठो खाना, शुभकामना आदानप्रदान, भेटघाट गर्दै पि» खेल्ने परम्परा पनि दशैंको विशेषता भित्रै पर्छ । हुनत दशैंका दश रंग विशेष छन् । ती मध्ये आराधना पूजापाठ, भेटघाट जमघट, खानपान, मनोरञ्जन, विशेष सरसफाई , गृहसज्जा, घुमफिर, किनमेल, परिवारसँग सामिप्यता, साँस्कृतिक आदानप्रदान र आर्थिक व्यवस्थापन मूख्य हुन् । एकआपसमा शुभकामना आदानप्रदान गर्दै सुख समृद्धिको कामना गर्दे पारिवारिक भेटघाट र पुनर्मिलनको माहोल जुटाउने कामपनि बडा दशैंमा नै गरिन्छ । शुभकामना आदानप्रदान दिपावली, छट एवं नयाँवर्ष एवं विस्केटजात्रामा पनि गरिन्छ तर दशैंमा चाँहि काम विशेषले एवं बाध्यतामा जन्मघरबाट टाढा बसेका परिवारका सदस्यहरु एकैठाँउमा भेला हुने गर्छन् । रातो अक्षताको टिका त जुनसुकै देवकार्य अनि पूजा गर्दा पनि लगाउन सकिन्छ तर पहेंला जमरा दशैंका बेलामा मात्रै लगाईन्छ । वडादशैंको नवरात्रमा पूजिने देवीका शक्तिरुपहरुका आआफ्नै परिचय र विशेषताहरु छन् । नवरात्रमा विशेषगरी देवीका नौ रुपमा नारीको पूजा गरिन्छ । अर्थात् शक्ति स्वरुपिणी माता भगवतीको नौ स्वरुपको विशेष पूजा, आराधना, अर्चना र जप हुने गर्छ दशैंमा ।