कला र संस्कृतिलाई नया प्रविधिसग जोड्ने आजको हाम्रो चुनौती
असोज २४, २०८०, बुधबार | विहान ०६:५७ बजे | 30
सुनिल प्रजापति
प्रमुख, भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको तर्फबाट यसरी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।
संसार आज डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना प्रविधिको विकासले संसारको कुनै पनि ठाउँ अब टाढा रहेन । टाइप राइटर र लिथो प्रविधिबाट शुरु भएका प्रकाशनहरु आज भू उपग्रहको माध्यमबाट रेडियो, टेलिभिजन, अनलाइन मिडिया जस्ता ठूल्ठूला संचार गृहहरुको रुपमा विकास भएका छन् । प्रविधिको विकासले मानिसले छिटो छरिटो सेवा सुविधाहरु प्राप्त गर्न सकेका छन् ।
विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र साँस्कृतिक रुपमा पनि अगाडि बढेको पाउँर्छौ । सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति हुँदा एक अमेरिकी विदेशमन्त्रीले ५० करोड जनता भोकमरीमा रहेको बताएका थिए । आज १ अर्ब ४० करोड भन्दा बढी जनसंख्या भएको त्यही चीनले विश्वको दोश्रो अर्थतन्त्र भएको देशको रुपमा विकास गर्यो र कृषिमा आधुनिक प्रविधि तथा सूचना प्रविधिको विकास गरी ग्रामिण अर्थतन्त्र उकासेर छोटो समयावधिमै ७७ करोड जनतालाई गरिबी मुक्त गर्न चीन सफल भयो । संयुक्त राष्ट्र संघको सहस्राब्दी लक्ष्यअनुसार सन् २०३०सम्ममा विश्वलाई गरिबीबाट मुक्त गर्ने भन्ने रहेकोमा चीनले १० वर्ष अघि नै त्यो लक्ष्य पूरा गर्यो । आधुनिक विज्ञान र प्रविधिको विकासले नै त्यो सम्भव भएको हो ।
प्रजग कोरिया, क्यूवालगायत समाजवादी देशहरुले नयाँ नयाँ प्रविधि व्यापक जनताको हित र देशको सम्बृद्धीको लागि प्रयोग गर्दै छन् भने बेलायत, फ्रान्स,जापान र संरा. अमेरिकाजस्ता पूजीवादी र साम्राज्यवादी देशहरुले आफ्नो स्वार्थ पूरा गर्न र नाफा कमाउन तथा विश्वमा आफ्नो प्रभूत्व जमाइ राख्न प्रयोग गर्दै छन् । सं.रा. अमेरिकाले कमजोर र अल्पविकसित देशहरुलाई नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो नियन्त्रणमा राख्ने अपराध गरे र गर्दै छन् । अफगानिस्तान, इराक, लिवियालगायतका देशहरुमा गरेको आक्रमण र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबारे अमेरिका नियन्त्रित संचार गृहहरुले चीनबारे विश्वव्यापी रुपमा फैलाएको भ्रम त्यसका उदाहरणहरु हुन् । चोरी, हत्या, अपहरण, डकैटी जस्ता अपराधिक घटनाहरुमा पनि नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेको पाउन्छौं । यसरी व्यक्ति, राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पनि प्रविधिको विकासले प्रभाव पारिरहेको देखिन्छ ।
भक्तपुर देशकै साना नगर मध्ये एक हो । कला संस्कृतिको दृष्टिले अत्यन्त सम्पन्न यस नगरलाई हाम्रा अग्रजहरुले ज्ञानविज्ञानको केन्द्र बनाउने घोषणा गर्नु भयो । हामी त्यही उद्देश्य पूरा गर्न प्रयत्नशील छौं । भक्तपुर शिशुस्याहार केन्द्रदेखि कलेजहरूसम्म सञ्चालन गर्ने नेपालको एक मात्र नगरपालिका हो । दुईवटा इन्जिनियरिङ कलेजसहित आधा दर्जनभन्दा बढी शैक्षिक संस्थाहरु संचालन गरी विभिन्न बिषयमा देश भरका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै छौं । हरेक वर्ष सयौंको संख्यामा प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छौं । हाम्रा कलेजहरूबाट उत्पादित दक्ष जनशक्तिहरूकै सहयोगले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सयौं सम्पदाहरू मौलिक शैलीमा पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गर्यौ र गर्दै छौं ।
विश्वविद्यालयहरू नयाँ नयाँ विषयको खोज अनुसन्धानको केन्द्र हुनुपर्छ भन्नेमा हाम्रो जोड रहँदै आएको छ । हाम्रा कलेजहरूमा अनुसन्धानको लागि बजेटको निश्चित अंक विनियोजन गर्दै आएका छौं । साथै विद्यार्थीहरूको सीप विकासको लागि विद्यार्थी उद्यमशीलता विकास कोष खडा गरी अध्ययनरत विद्यार्थीहरुलाई दक्ष बनाउन सहयोग गर्दै आएका छौं ।
भक्तपुरका कुनै पनि विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बंचित नहोस् भनी शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं । नगरबासी सम्पूर्ण विद्यार्थीलाई इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपाल भाषा, अर्थशास्त्र, दर्शनशास्त्रलगायत धेरै विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।
कला र संस्कृति हाम्रो पहिचान भएकोले स्थानीय जनतासँग मिलेर त्यसको संरक्षण र सम्बद्र्धन गर्दै आएका छौं । ती कला र संस्कृतिलाई नया“ प्रविधिस“ग जोड्ने आजको हाम्रो चुनौती हो । हाम्रा नया“ पुस्ताले विस्तारै प्रविधिमैत्री बनेर हाम्रा कला–संस्कृतिको महत्वबारे विश्वभर प्रचार प्रसार गर्ने आशा गछौं ।
भक्तपुरलाई संसारकै एक आकर्षक नगरको रुपमा विकास गर्ने का. रोहितले “१०० वर्ष पछिको भक्तपुर” मा देख्नु भएको सपना साकार पार्न हामी निरन्तर लागिरहेका छौं । आज भक्तपुर त्यही मार्गमा हिडिरहेको छ । परिवर्तित समय र प्रविधिको विकासले तोकिएको समय अघि नै १०० वर्ष पछिको भक्तपुरको सपना पूरा हुने सम्भावना बढ्दै छ । हामी नगरपालिकाका जनप्रतिनिधिहरू त्यसका विभिन्न आधारहरु निर्माण गर्दैछौं । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुद, सरसफाइ र विकास निर्माणका कामहरु गर्दै जनताको सेवा गरिरहेका र्छौ ।
विश्वमा विकसित नया“ नया“ प्रविधिबाट हाम्रा विद्यार्थीहरूलाई दक्ष बनाउन विभिन्न देशका विश्वविद्यालयस“ग हामीले सम्पर्क बढाउँदै छौं । यस अन्तराष्ट्रिय सम्मेलनले सहकार्य गर्न थप मद्दत मिल्ने विश्वास गछौं ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०८० असोज २४ गते “कम्प्यूटर, विद्युत, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३” को उद्घाटन समारोहमा कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)