नवरात्रमा पुजिने नवदुर्गा
असोज २२, २०८०, सोमबार | दिउँसो १२:१५ बजे | 75
सागर गुरागाईं
हिन्दुहरुको महान पर्व वडा दसैं शक्तिको आराधना गर्ने चाडको रुपमा पनि रहँदै आएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी आरम्भ हुने नवरात्र पर्वको नौ दिनको अवधिमा शक्तिस्वरुपा देवी दुर्गा भवानीका विभिन्न नौ स्वरुपको पूजा अर्चना गरिन्छ । तिनै नौ स्वरुपका भगवतीलाई हामी समग्रमा नवदुर्गा भन्छौं । नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी एवं सिद्धिदात्री हुन् । बडादसैंका अवसरमा पूजा गरिन नवदुर्गाहरुका छुट्टाछुट्टै विशेषता एवं महिमा छ ।
शैलपुत्री
घटस्थापनाको दिन पूजा गरिने देवीको नाम शैलपुत्री हो । यिनी हिमालय पर्वतकी छोरी भएकीले शैलपुत्री भनिएको हो । कौशिकी समेत भनिने यी देवी कोशी नदीको स्रोत मानिन्छिन् । यी देवीले आँखाबाट धूँवा निकाल्ने धुम्रलोचन नामक दैत्यको संहार गरेकी थिइन् भन्ने प्रचलन छ ।
ब्रह्मचारिणी
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी नामकी देवीको पूजाअर्चना गरिन्छ । सतीदेवीले पुर्नजन्म लिँदै पार्वती रुप धारणा गरेपछि उनले महादेवलाई पतिका रुपमा पाउन घोर तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । यिनको दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु हुन्छ ।
चन्द्रघण्टा
तेस्रो दिन पुजिने सिंह माथि विराजमान देवीको नाम चन्द्रघण्टा हो ।
यी देवीका ५ मुख तथा १० हात छन् । चन्द्रघण्टाको सुवर्णमय स्वरुप देखेर दानवहरु डराउने भएकोले यिनलाई चन्द्रघण्टा भनिएको हो । यी देवीले चण्ड मुण्ड नामक जुम्ल्याहा दैत्यको संहार गरेकी थिइन् ।
कुष्माण्डा
आठ हात भएकी, सूर्य मण्डलमा निवास गर्ने, सूर्यझै तेज भएकी चौथो दिन पुजिने देवीलाई कुष्माण्डा भनिन्छ । यी देवीको अट्टहासमा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने शक्ति छ भन्ने कुरामा हिन्दु धर्मावलम्बीहरु विश्वास गर्छन् । यी देवीले महिषासुरका सेनापतिहरु चामर, चिक्षुरलगायतका दैत्यहरुको संहार गरेकी थिइन् भन्ने शास्त्रहरुमा उल्लेख छ ।
स्कन्दमाता
स्वेत वर्ण, तीन आँखा, चार हात, कमलको फूलमाथि आसन भएकी स्कन्द कुमारकी जननी देवी स्कन्दमाताको पूजा पाँचौं दिन गरिन्छ । स्कन्दमाता नै पवित्र नदी गंगाकी सर्जक मानिन्छिन् ।
कात्यायनी
नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजाअर्चना गरिन्छ । तीन नेत्र, आठ हात भएकी यी देवीको स्वरुप सुवर्णमय छ । कात्यायन ऋषिले यज्ञमा उपद्रो मच्चाउने दैत्यहरु शुम्भ र निशुम्भको संहार गर्न दुर्गा भवानीको आराधना गरेपछि कात्यायन ऋषिकी छोरीका रुपमा प्रकट भएकीले यिनको नाम कात्यायनी रहेको हो ।
कालरात्री
सातौं दिन महाकालीसमेत भनिने कालरात्री नामकी देवीको पूजाअर्चना गरिन्छ । कृष्ण वण, गधा बाहन भएकी, तीन नेत्र, चार हात भएकी , चारै हातमा क्रमशः तरबार, मसाल, वरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, सास फेर्दा आगो ओकल्ने यी देवीले भुइँमा झरेको प्रत्येक थोपा रगतबाट पुनः जीवन प्राप्त गर्ने भनिएको रक्तवीज नामक दैत्यको संहार गरेकी थिइन् ।
महागौरी
गोरुमाथि चढ्ने श्वेत वर्ण, श्वेतवस्त्र धारणा गरेकी, तीन आँखा, चारहात भएकी यी देवीको पूजा अष्टमीका दिन अर्थात् आठौं दिन गरिन्छ । यी देवीलाई पार्वतीको आठौं अवतार मानिन्छ । यी देवी शान्ति तथा समुन्नतिको प्रतीक पनि हुन् । यी देवीले दानवराज महिषासुरको वध गरेकी थिइन् ।
सिद्धिदात्री
नवरात्रको नवौं वा अन्तिम दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । भगवान् शिवले पनि यिनै देवीको आराधना पश्चात् सिद्धि प्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको हो । सिद्धिदात्रीको पूजा आराधना गर्नाले मनोवान्छित फल प्राप्त हुन्छ भन्ने विश्वास छ ।