भक्तपुर उद्योग वाणिज्य संघले खेलेको भूमिका प्रशंसनीय
असोज २०, २०८०, शनिबार | विहान ०५:११ बजे | 50
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका बताएकी छन् । अन्य जिल्लाका तुलनामा यहाँका उद्योगी र व्यवसायीलाई बढी सहयोग गरिरहेका उनले बताएकी हुन् । उद्योग बाणिज्य संघ भक्तपुरले प्रजिअ श्रेष्ठको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले गलत काम गर्ने उद्योगी र व्यापारीको पक्षमा नलागी उनीहरुलाई कारवाहीको दायरामा ल्याउन उद्योग बाणिज्य संघ भक्तपुरले सहयोग गरिरहेको प्रति सन्तोष व्यक्त गरेकी छन् । भक्तपुर उद्योग बाणिज्य संघले व्यवसायिक दायित्व निर्वाह गर्न प्रेरित गरेका कारण जिल्लामा अव्यवसायिक हर्कत गर्ने उद्योगी व्यवसायीहरु निरुत्साहित भएका उनले बताइन । बिशेष गरी उपभोक्ता हित संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने अनुगमनका क्रममा बढी मूल्य लिने, नियम बिपरित प्याकेजिङ्ग गरी बस्तु बेच्ने, मिति नाघेका बस्तु बेच्ने र गुणस्तरहीन मालसामान बिक्रि वितरण गर्नेलाई उद्योग बाणिज्य संघ भक्तपुरले संरक्षण नगरी कारवाहीको दायरामा ल्याउन खेलेको भूमिका प्रशंसनीय भएको उनको भनाइ छ । प्रजिअ श्रेष्ठले उद्योग बाणिज्य संघ भक्तपुरले जिल्लामा शान्ति सुरक्षाको प्रवद्र्धनमा समेत सहयोग पुर्याइरहेको बताएकी छन् । सिसिटिभी क्यामेरा जडान, ट्राफिक कार्यालय लगायत भिभिन्न प्रहरी प्रभागका भवन निर्माण गर्न सहयोग गरेर उद्योग बाणिज्य संघ भक्तपुरले शान्ति सुरक्षाको प्रवद्र्धनमा सहयोग गरिरहेको उनले जनाएकी छन् । उद्योग बाणिज्य संघले बिभिन्न तालिम र कार्यक्रम मार्फत व्यवसायिक हित मात्र नसोची सामाजिक कर्तब्य समेत पालना गरेको उनले बताइन । विशेषगरी कोभिड १९ महामारीको समयमा संघले आर्थिक, भौतिक र मानवीय सहयतामा कुनै कन्जुस्याई नगरेको खुलासा गर्दै प्रजिअ श्रेष्ठले प्रहरी प्रशासनलाई हरेक कार्यमा सहयोगको हात बढाइरहेको प्रति आभार प्रकट गरिन । आफ्नो कार्यकालमा समेत प्रशासन र उद्योग बाणिज्य संघको सम्बन्ध सुमधुर नै रहने उनले बिश्वास व्यक्त गरेकी छन् । जिल्लाको उद्योग धन्दा र ब्यापार व्यवसायको सुरक्षाको लागि प्रहरी र प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउदै प्रजिअ श्रेष्ठले शान्ति सुरक्षामा कुनै थ्रेट उत्पन्न भए निसंकोच जानकारी गराउन आग्रह समेत गरेकी छन् । उनले औधोगिक पूर्वाधार प्रवद्र्धनमा समेत आफूले सक्दो समन्वय र सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेकी छन् । उक्त अवसरमा भक्तपुरमा भर्खरै पदबहाली गरेका प्रहरी प्रमुख एसपी बेद बिष्टलाई समेत स्वागत गरिएको छ । कार्यक्रममा उद्योग र व्यवसायको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने उदघोष गर्दै एसपी बिष्टले उद्योग बाणिज्य संघले समेत प्रहरीलाई सहयोग गर्ने बिश्वास व्यक्त गरेका छन् । आर्थिक सहायता दिएर मात्र नपुग्ने बताउदै एसपी बिष्टले उद्योग व्यवसायमा कालो धन प्रयोग भएको भए त्यसको जानकारी दिन आग्रह गरेका छन् । उक्त अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले वर्तमान व्यवस्था बलियो बनाउन उद्योगी र व्यवसायीले सहयोग गर्नुपर्नेमा जोड दिंदै उत्पादन र रोजगारी अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, उप अनुसन्धान अधिकृत टेकराज तिमल्सिना, सशस्त्र प्रहरी प्रमुख २२ नम्बर गणका गणपति दिनेश महत, इन्द्रबक्स गणका गणपतिमोहन थापा, सैनिक आवासीय विद्यालयका प्रमुख महासेनानी हरि बिक, जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठक, प्रहरी वृत्त जगातीकी प्रमुख रहेकी डिएसपी दिप्ती कार्की, थिमी बृत्तका डिएसपी रविन श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख लगायतलाई समेत स्वागत गरिएको थियो । उनीहरुलाई स्वागत गर्दै भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले प्रहरी प्रशासनले शान्ति सुरक्षा दिए मात्र उद्योगी व्यवसायीले देशको अर्थतन्त्र उकास्न योगदान दिनसक्ने उल्लेख गरे । उद्योगी र व्यवसायी लाई हेर्ने नजर फराकिलो हुनुपर्नेमा जोड दिंदै उनले आफूहरुले आफ्नो लागि मात्र नभई समाज र देशको बिकासको लागि पु¥याइरहेको योगदानको अवमूल्यन गर्न नहुनेमा जोड दिए । कार्यक्रममा पूर्व अध्यक्ष केपी ताम्राकार, केपी अवाल, युवकराज भण्डारी, वरिष्ठ उपाध्यक्ष रोशानीमैया धौबन्जा, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजा, संघका महासचिव दिनेश गोसाई र कार्यक्रम संयोजक नविन प्रजापतिले आ–आफ्नो विचार राखेको थियोे । उक्त कार्यक्रममा पश्चात सिडिओ र एसपी लगायतको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको सचिव विश्वराम दुवालले बताएका छन् ।