बायरिलाँ दशैं तिहार मेला सुरु
असोज १४, २०८०, आइतबार | विहान ११:४५ बजे | 30
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित बायरिलाँ मार्गमा दशैं तिहार बजार मेला एवं विविध सांस्कृतिक कार्यक्रम २०८० सुरु भएको छ । नेपालीहरुका चाड वडादशैं, तिहार, नेपाल सम्वतको नयाँवर्ष, छठ लगायतका पर्वको अवसरमा मेला आयोजना गरिएको शंखधर मार्ग (बायरिलाँ) टोल सुधार समितिका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो , असोज १३ गते मध्यपुर थिमिमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको बजार मेला आगामी मंसिर २ गत सम्म सञ्चालन हुनेछ । मेलाका संयोजक रत्न तिन्सी श्रेष्ठले व्यवसाय प्रवर्धन एवं मध्यपुर थिमिको संस्कृति, जात्रा, नाच, परम्परागत खाजा, खानाको प्रचार गर्ने लक्ष्य रहेको बताउनु भयो । टोल सुधार समितिका उपाध्यक्ष रोशन बज्राचार्यले २ वर्ष अघि पनि दशैंतिहार मेला गरिएको तर अहिले झन व्यवस्थित रुपमा दशेंतिहार मेलामा रुं १ हजार भन्दा माथिको सामान खरिद गर्दा उपहारहरु प्रदान गरिने बताउनु भयो । उपाध्यक्ष बज्राचार्यले मेला अवधिमा स्थानीय व्यवसायीले सुपथमूल्य अनि छुटमा सामान बिक्री गर्ने र कुपन दिने जानकारी दिदैं यसपटक चाडपर्वका लागि चाहिने सम्पूर्ण सामानदेखि चिया कफि एवं नेवारी परिकारको स्वाद लिदैं सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उक्त टोल सुधार समितिका सचिव डा.रामहरि श्रेष्ठ, उक्त टोलसुधार समितिका पूर्व अध्यक्ष राजेश श्रेष्ठ लगायतले मेलाको उद्देश्य, महत्वबारे प्रकाश पार्दै व्यवसाय प्रवर्धन एवं मध्यपुर थिमिको पहिचान बारे सबैलाई जानकारी दिने रहेको बताउनु भयो । कार्यक्रममा स्थानीय व्यवसायीहरु शिव सापकोटा, मनीराज अर्याल लगायले सुपथ मुल्यमा गणस्तरीय सामानको बिक्री, छुट अनि कुपन वितरण पनि भइरहेको जानकारी दिनुभयो । मध्यपुर थिमि नगरक्षेत्रका दर्जनौं टोलसुधार समितिमध्ये बायरिलाँ टोलसुधार समितिले सरसफाई, खानेपानी व्यवस्थापन, टोलवासीको स्वास्थ्य परिक्षण, स्वास्थ्य शिविरदेखि स्थानीय व्यवसायीहरुलाई प्रोत्साहित गर्ने कार्यहरु गर्दै आएको उक्त टोलसुधार समितिका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । बायरिलाँ दशैं तिहार मेलामा मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, व्यवसायी शिव सापकोटा, कार्यसमिति सदस्य मैया श्रेष्ठ लगायतका वक्ताहरुले मेलामा कपडा, श्रींगार, भाडाँकुडाँ र कस्मेटिकका साथै तयारी पोशाकहरु विशेष छुृटमा बिक्री भइरहेको भन्दै मेला सफल पार्न सबैसँग अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल सांस्कृतिक उत्थान संघका अध्यक्ष बाल मुकुन्द प्रजापतिको अगुवाईमा महाकाली नाच, नेवारी नाच लगायतका विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । स्थानीय बासिन्दा रोशन बज्राचार्यका अनुसार असोज २० गते शनिबार राससका फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठको मध्यपुर थिमिको संस्कृति, सम्पदा, जात्रा, पर्व, नाच आदि बारे एकल फोटो प्रदर्शनी पनि हुँदैछ ।