विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत
असोज १०, २०८०, बुधबार | विहान ०५:१८ बजे | 45
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभयो ।
‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका अष्ट्रेलियाका १ जना र भारतका १६ जना गरी १७ जना पर्यटकहरूलाई लाखे प्याखंको प्रस्तुतसीसँग भक्तपुर नगरमा स्वागत गरिएको थियो ।
पर्यटकहरूलाई स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नपाले आवश्यक पहल गर्दै आइरहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्ये एकजना प्रतिनिधिले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोको लागि धन्यवादज्ञापन गर्नुभएको थियो । भक्तपुरका कला कृतिहरु आफैमा अद्धितीय रहेको बताउँदै उहाँले यहाँको पर्यटन प्रवद्र्धनमा आफ्नोतर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्यहरू, कर्मचारी र पर्यटनसँग सम्बन्धित सरोकावालाहरूको उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...