ख्वप अस्पताललाई रु. १० करोड भन्दा बढी बिमा रकम भुक्तानी बाँकी किन ?
असोज ९, २०८०, मङ्गलबार | विहान ०९:५३ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना बाँकी हुँदा अस्पतालाई आर्थिक समस्या परिरहेको स्पष्ट पार्दै छिटो रकम सोधभर्ना गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको ध्यानाकर्षण गर्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाको आयोजनामा भएको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रममार्फत विद्यार्थीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धनबारे एकदिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सामुदायिक विद्यालयको प्रतिनिधित्व नभएकोतर्फ प्रश्न उठाउँदै गरिबका छोराछोरीहरु पढ्ने विद्यालयको लागि विद्यालय नर्स आवश्यक भएको बताउनुभयो ।
हाल भक्तपुरका ५ वटा सामुदायिक विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै विद्यार्थी संख्या अनुसारको विद्यालय नर्स राख्ने निश्चित मापदण्ड भएको भए यो कार्यक्रम अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।
विद्यालय नर्सहरुलाई समयसापेक्ष सेवा सुविधा, तालिम, नर्सहरुको जागिरको स्थायित्वको सुनिश्चितता आदिबारे स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्नु जरुरी रहेको बताउँदै उहाँले नर्सहरुलाई औषधी वितरणको अधिकार नभएको हुँदा विद्यालयहरुमा हप्तामा एकपटक डाक्टरले परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
मानसिक रोगसम्बन्धी विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नु उपयुक्त हुने बताउँदै उहाँले विद्यालय नर्स सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति नै राम्रो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागका निर्देशक हिराकुमारी निरौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रमका संयोजक बाला राईले पनि बोल्नुभएको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. रविकान्त मिश्रले विद्यालय नर्सको नीति तथा कार्यक्रम र डा. ग्याम्पोले विद्यालय नर्स प्रवद्र्धनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।