आज गणेशमान सिंहको २६ औ स्मृति दिवस ः को हुन् गणेशमान ?


असोज २, २०८०, मङ्गलबार | विहान ०१:०३ बजे | 35


आज गणेशमान सिंहको २६ औ स्मृति दिवस ः को हुन् गणेशमान ?

२०४६ सालको जन आन्दोलनका कमान्डर श्री गणेशमान सिंह दिवंगत हुनु भएको आज २६ बर्ष बितिसकेको छ । २०५४ असोज २ गतेका दिन यस संसारबाट बिदा हुनु भएका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंह एक लौह पुरुष थिए । वि.सं. १९९६ सालदेखि अर्थात् २४ वर्षको उमेरदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राजनीतिमा सक्रिय भए । वि.सं १९९७ माघ १० देखि लगातार प्रजापरिषद्का सदस्य गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई गोली हानेर र रुखमा झुण्ड्याएर मृत्युदण्डको सजाय दिइयो तर टङ्कप्रसाद आचार्य र रामहरि शर्मा भने ब्राह्मण भएकाले र गणेशमानचाहिँ काजी रत्नमानका सन्तान भएकाले मृत्युदण्डबाट जोगिए । वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावासको सजाय तोकियो । यसरी जेल परेका गणेशमानले ४ वर्ष त्यहीँ बिताए । अनि वि.सं. २००१ सालको असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल भए । यस कार्यबाट गणेशमानले ‘वीर’ को प्रख्याति पाएका थिए । यसरी वि.सं २००७ को प्रजातन्त्र ल्याउन उहाँको ठूलो योगदान रहेको थियो । २०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठलाई पराजित गरी विजय त भए तर उहाँको योगदान अनुरुप भोट भने पाउन सकेनन । २०१७ साल पछि देशमा राजतन्त्रको उदय सं–संगै उहाँहरुलाई समाउन आदेश जारी भए । २०४६ सालको ऐतिहासिक सफलतापछि राजाबाट अन्तरिम सरकारको प्रधानमन्त्री बन्न भन्दा उहाँ मान्नु भएन । पद प्राप्तिका लागि मरिमेट्ने जमानामा गणेशमान सिंहले राजाबाटै प्रधानमन्त्रीको पद प्रदान हुँदा पनि आफू प्रधानमन्त्री नबनी अरुलाई उक्त पद सुम्पनु गणेशमानको ठूलो राजनीतिक उदारता, विशेषता र अनुकरणीय उदाहरण हो । गणेशमानका अनुयायीले उनको यो कदमको अनुकरण गरेमा बल्ल गणेशमानको सच्चा अनुयायी होइनेछ । यही उनको जयन्तीको अवसरमा सम्झने विशेषता पनि हो ।

Comments