पढाउने कि सिकाउने ?


भदौ २२, २०८०, शुक्रबार | दिउँसो १२:३९ बजे | 20


पढाउने कि सिकाउने ?

१ पठनपाठन र परीक्षामा कुन प्रमुख ? दुवै होइनन्, प्रमुख त विद्यार्थीको सिकाइ हो । तर नेपालमा हुने गोष्ठी सेमिनारहरुमा कि पठनपाठनको कुरा सुनिन्छ कि परीक्षाको । २. के हो विद्यार्थी सिकाइ ? सायदै हाम्रा शिक्षाका नीतिनिर्माता र विद्यालयले यस कुरामा ध्यान पु¥याएका होलान् । किनभने पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने सरकारी प्राथमिकता वा निजीका हकमा पाठ्यक्रमबिनाका हचुवा पाठ्यपुस्तक किन्न लगाउने र त्यसैलाई रटाउने परम्परा यद्यपि छँदैछ । ३. पाठ्यक्रमको आवश्यकता किन प¥यो ? किनभने यसमा विद्यार्थीको सिकाइ उपलब्धि उमेर र कक्षा अनुसार तय गरिएको हुन्छ र यो प्रत्येक विषयमा लम्बीय र समतलीय समन्वयका आधारमा निर्माण गरिएको हुन्छ । विद्यार्थीमा यी सिकाइ उपलब्धिको प्राप्तिको सुनिश्चितता बेगर विद्यार्थीको सिकाइ सम्भव छैन र सोच्न पनि सकिन्न । ४. तर विडम्बना  हाम्रा विद्यालयमा पढाउने अधिकांश शिक्षकको हातमा पाठ्यक्रम नै छैन । कतिपय अवस्थामा त विद्यालयभित्रै पाठ्यक्रम खोज्दा भेटिंदैनन् तुरुन्तै डाउनलोड गर्न सकिने भए पनि यसतर्फ कसैको जाँगर पलाएको छैन । त्यसैले विद्यालयभित्र पढाइ त हुन्छ तर सिकाइ हुँदैन । ५. सरकारलाई पाठ्यपुस्तकको चासो, शिक्षक र विद्यार्थीलाई पाठ्यपुस्तकमै ध्यान र राष्ट्रिय परीक्षा बोर्डले तयार पार्ने प्रश्न पनि पाठ्यपुस्तकमा मात्रै आधारित वर्तमान परिस्थितिमा सिकाइ शून्यप्रायः हुनु आश्चर्यको कुरो भएन । ६. अहिले शिक्षा मन्त्रालयले निकालेको प्रतिवेदनले सार्वजनिक विद्यालयको श्रेणी मापन गरेको छ । अन्य पक्षको अलावा शैक्षिक उपलब्धि पनि त्यसकां आधारहरु हुन् । शैक्षिक उपलब्धि फेरि पनि पाठ्यपुस्तक पढाइको अंग भयो सिकाइको अंग हुन सकेन । ७. अर्को पक्ष पनि त्यत्तिकै सबल छ नेपालमा । कोर्स सिध्याउने । विद्यार्थीले सिके सिकून् नसिके नसिकून्, पाठ्यपुस्तकमा भएका विषयवस्तु एकसरो पढाइदिएपछि, जिम्मेवारी खतम । न कमजोर विद्यार्थीलाई उपचारात्मक शिक्षा न अब्बललाई सृजनात्मक सुविधा । ८. जहिलेसम्म शिक्षा मन्त्रालयले पाठ्यक्रमको सिकाइ उपलब्धिलाई आधार मानेर सिकाइको सूचक तयार गर्न र सोही सूचक अनुसार विद्यालयको पठनपाठन गराउन सक्दैन, विद्यार्थी सिकाइ नारामा मात्रै सीमित हुने पक्का छ । ९. परीक्षामा जोड दिने हालको पद्धतिले सिकाइमा बाधा पु¥याइरहेको न त शिक्षा मन्त्रालयलाई ज्ञात छ न त विद्यालयलाई नै २१ औं शताब्दीमा ’ए’ ग्रेड पाउनुमा कुनै गर्व गर्न सकिन्न जबसम्म त्यही अनुसारको क्षमता विद्यार्थीमा भेट्न सकिन्न । त्यसैले अहिलेको बजारले माग्ने भनेको ग्रेड होइन क्षमता हो । १०. पाठ्यपुस्तक र परीक्षा साधन मात्रै हुन् साध्य होइनन् । अनि त्यसैमा मात्रै बल गरिरहने हो भने साध्य भेट्ने कहिले ? के शिक्षा मन्त्रालय संयन्त्रले यसतर्फ ध्यान देला त ?

Comments